इटहरी । मोरङको मिक्लाजुङमा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ । मिक्लाजुङ गाउँपालिका–८ तोरीबारी जंगलमा मंगलबार राति बुलेट मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा स्थानीय ३२ वर्षीय दिपेन लिम्बूको ज्यान गएको हो ।
प्रहरीका अनुसार मधुमल्लाबाट खुडीतर्फ जाँदै गरेको को १५ प ५४७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकछेउको बिजुलीको पोलमा ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका लिम्बूलाई तत्काल उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल लगिएको थियो । तर, चिकित्सकले राति ११ः५५ बजे उनलाई मृत घोषणा गरेका थिए । प्रारम्भिक अनुसन्धानबाट अँध्यारो सडकमा मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको देखिएको प्रहरीले जनाएको छ । दुर्घटनास्थल मधुमल्लास्थित ट्राफिक प्रहरी कार्यालयबाट करिब चार किलोमिटर उत्तरमा पर्छ ।
दुर्घटनामा परेको मोटरसाइकल इलाका प्रहरी कार्यालय मधुमल्लाले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर नवीन वली नेतृत्वको टोलीले गरिरहेको छ ।

