काठमाडौं | नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विद्यार्थी आन्दोलन सम्बन्धी पुस्तक “विद्यार्थी आन्दोलन र ने.वि.संघ” को विमोचन गर्नुभएको छ।
नेपाली कांग्रेससँग सम्बद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) का केन्द्रीय सदस्य आकाश प्रसाद उप्रेती द्वारा लेखन तथा संकलन गरिएको उक्त पुस्तक आइतबार काठमाडौंको बुढानीलकण्ठस्थित देउवा निवासमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो।
पुस्तकले नेपाली राजनीतिक परिवर्तनमा विद्यार्थी आन्दोलनले खेलेको भूमिका मात्रै होइन, विश्वका विभिन्न देशहरूमा भएका विद्यार्थी आन्दोलनको प्रभाव र योगदानबारे समेत प्रकाश पारेको लेखक उप्रेतीले जानकारी दिनुभयो। उहाँले यो प्रकाशनले नेविसंघभित्र सृजनात्मक कार्यको थालनी गरेको पनि उल्लेख गर्नुभयो।
पुस्तक विमोचन समारोहमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा विद्यार्थी विभाग प्रमुख राजिव ढुङ्गाना, केन्द्रीय सदस्यहरू सीता गुरुङ, प्रतिमा गौतम, प्रदीप सुनुवार, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेविसंघका अध्यक्ष दुजाङ शेर्पा, नेपाल तरुण दल तथा नेविसंघका अन्य केन्द्रीय नेताहरूको उपस्थिति रहेको थियो।
विमोचन कार्यक्रममा पूर्व प्रधानमन्त्री देउवाले विद्यार्थी आन्दोलनसम्बन्धी पुस्तक लेखन गरेकोमा लेखक आकाश उप्रेतीलाई धन्यवाद व्यक्त गर्दै शुभकामना दिनुभयो।

