इटहरी। इलामको माइजोगमाई गाउँपालिकाको उत्तरपूर्वी क्षेत्रमा जंगली जनावार गाउँ पसेपछि स्थानीयमा त्रास बढेको छ । एक महिना यता गाउँ पसेको चितुवाले स्थानीयको खोरबाटै खसीबाख्रा मार्न थालेको छ । गए राति माइजोगमाई –२ लोसेका शेरबहादुर गुरुङको बाख्राको खोरमा चितुवा पसेर माउ बाख्रा मारेको छ । केही दिनअघि पनि लोसेमा तीनवटा बाख्रा चितुवाले खोरमै खाएको यहाँका पशु प्राविधिक रविन गुरुङले जानकारी दिनुुभयो । यस्तै, गएराति नै माईजोगमाई –२ मुलखर्कका हर्कसिंह राई र माईजोगमाई –२ बिज्जेका गोपाल खड्काको बाख्रालाई चितुवाले मारेको जानकारी आएको छ । पछिल्लो समय चितुवा, बँदेल र बाँदरजस्ता जंगली जनावरले दिनहुँजसो घरपालुवा जनावर मार्ने र अन्नबालीमा नोक्सानी गर्न थालेपछि किसानहरु त्रसित भएको स्थानीय सञ्चारकर्मी रोशन काफ्लेले जानकारी दिनुभयो । किसानले लगाएको मकै, आलु, फर्सी, स्कुसजस्ता तरकारी बाली जंगली जनावरले खाएर नस्ट गर्नेगरेको स्थानीय किसानको भनाइ छ । स्थानीयहरु एक्लै घाँस, दाउरा गर्न जंगल जान र विद्यालय जाने बालबालिकालाई समेत विद्यालय–घर गर्न समस्या हुन थालेको बताइएको छ । जंगली जनावारको उपद्रो बढेको भए पनि क्षतिको यकिन तथ्यांक नभएको इलाका प्रहरी कार्यालय नयाँबजारका प्रमुख रमेश चौधरीले बताउनुभयो ।

