इटहरी । मोरङको पथरी शनिश्चरे ०२ को शहिद रत्नकुमार – कृषि सडक खण्डको उद्घाटन गरिएको छ । बिहीबार बिहान पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले  रिबन काटेर उक्त मार्ग अन्तर्गत  सिर्जना चोकमा सो कालोपत्रे सडकको उद्घाटन गर्नुभएको हो ।  उहाँले  विगत तीन वर्षदेखि निरन्तर सो शहिद रत्न कुमार –कृषि सडक खण्डमा संघीय सरकारबाट क्रमागत बजेट र पथरी शनिश्चरे नगरपालिकाको बजेट समेत गरी लागत साझेदारीमा उक्त शहिद रत्न मार्ग अन्तर्गत बहुमुखी क्याम्पस, बुद्ध चोक हुँदै बोक्रे चोक – कालापानी सम्मको साढे ३ किलोमिटर सडकमा कालेपत्रे  गर्न सफल भएको बताउनुभयो । नगरका अन्य वडाहरूमा पनि बहुवर्षीय योजनाहरू पनि सञ्चालनमा रहेको  चर्चा गर्दै बनाईएका सबै सडकहरूको दिगो संरक्षणको लागि नागरिकको पनि महत्वपूर्ण सहयोग र भूमिका रहने उल्लेख गर्नुभयो । आर्थिक वर्ष २०८१÷०८२ मा मात्रै वडा नं २ को सहिद रत्न मार्गको  सुन्दर बस्तीदेखि बोक्रे चोक – कालापानी सम्म जोड्ने १७ सय ४० मिटर लामो र ५.५ चौडाको सो सडकमा कालोपत्रे गरिएको छ ।  उक्त कार्यका लागि विराटनगरको जोशिला रनकालिमाता जेभी निमार्ण कम्पनीले कुल १ करोड ८२ लाख ५३ हजार १५० रुपैयाँ (भ्याटसहित)को सम्झौतामा कालोपत्रे गर्ने कार्य सम्पन्न गरेको नगरपालिकाका प्रमुख इन्जिनियर हसरत अली नेपालले जानकारी  दिनुभयो ।  सोहि समयमा वडा नं २ का वडा अध्यक्ष नैना राईले गत आर्थिक वर्षमा वडा भित्रका विभिन्न विकास आयोजना तथा कार्यक्रमहरुबारे उल्लेख गर्नुभएको थियो ।  ३१ वर्षपछि सो सडकमा पिच भएकोले कृषिजन्य उत्पादनहरू नजिकैको हाट बजारसम्म  बेचबिखन गर्न सहज भएको स्थानीय अगुवा देवीप्रसाद ढकालले  बताउनु भयो । पथरी बजार र उर्लाबारी नगरपालिकाका विभिन्न  कृषि, पशु तथा व्यापारिक बजार आवतजावत गर्न प्रत्यक्ष लाभ मिल्ने विश्वास व्यक्त गर्नुभयो । उक्त अवसरमा नगरपालिकाका प्रवक्ता तथा वडाध्यक्ष नवीन कार्की,नगरपालिकाको पूर्वाधार प्रमुख ईन्जिनियर हसरत अली नेपाल तथा सहायक इन्जिनियर सन्तोष केसी , वडा सदस्यहरू क्रमशः चन्द्रकुमार राई र सीता भुसाल, पूर्व वडाध्यक्ष याम गुरागाईं , चौतारी सामुदायिक वनका पदाधिकारी, स्थानीय , समाजसेवी तथा सर्वसाधारणहरूको उपस्थिति  रहेको थियो ।