इटहरी । मोरङको कानेपोखरी गाउँपालिकाले छात्रवृत्ति, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सोमबार कानेपोखरी गाउपालिकाको प्राङ्गणमा सो कार्यक्रम सम्पन्न भएको हो । कानेपोखरी गाउँपालिकाको आयोजनामा बृहत औपचारिक कार्यक्रमका बिच आ.व. २०८१÷८२ मा उत्तीर्ण भएका विभिन्न कक्षाका बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएकोे हो । कानेपोखरी गाउँपालिकाको विशेष कार्यक्रम अन्तरगत रहेको “प्राविधिक विधामा रोजगारी, कानेपोखरीका छोराछोरी“ कार्यक्रम अन्तर्गत पालिका भरिका प्राविधिक विषयमा अध्ययनरत १८ जनालाई नगद २७ हजार ५ सय रुपैयाँका दरले सम्मान गरिएको थियो भने, आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा अध्ययन गराउने गाउँपालिकाका शिक्षक र कर्मचारीहरुलाई पनि समयावधिको आधारमा नगद पुरस्कार सहित ३० जनालाई सम्मान गरिएको थियो । यस्तै कानेपोखरी गाउँपालिका स्तरिय आधारभूत शिक्षा (कक्षा ५ र ८) उत्तीर्ण परीक्षामा सामुदायिक विद्यालयतर्फ पालिका प्रथम र द्वितीय स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई प्रमाणपत्र र नगद पुरस्कार वितरण गरिएको हो । त्यस्तै माध्यमिक शिक्षा परिक्षा (एस.ई.ई.) २०८१ मा सामुदायिक विधालयहरुको तर्फबाट उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई प्रमाणपत्र र नगद पुरस्कार वितरण गरिएको थियो । यस्तै माध्यमिक शिक्षा परिक्षा (एस.ई.ई.) २०८१ मा सामुदायिक विधालयहरुको तर्फबाट उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय प्रथम शिक्षासदन माध्यमिक विद्यालय, कानेपोखरी–३ लाई नगद ३० हजार र प्रमाणपत्र र दृतिय हुने सिंहदेवि माध्यमिक विद्यालय, कानेपोखरी–५ लाई नगद २० हजार राशी र प्रमाणपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा मन्तब्य राख्नुहुदै उपाध्यक्ष भोलाप्रसाद अधिकारीले शिक्षामा सुधार ल्याउन पालिका व्यापक लागिपरेको बताउनुभयो । पालिका अध्यक्ष राजमती इङ्गनामले पालिकाले शिक्षालाई उच्च स्थानमा पुर्याउनलाई ठुलो लगानी गरेको बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवको विशेष आतिथ्यता रहेको थियो भने कार्यक्रम संचालन शिक्षा साखा प्रमुख चूडामणि रेग्मीले गर्नुभएको थियो ।