इटहरी । विराटनगरस्थित कोशी अस्पतालमा सर्पले टोकेका बिरामी संख्या बढ्दै गएको छ। अस्पतालका वरिष्ठ फिजिसियन तथा पूर्व मेडिकल सुपरिटेन्डेन्ट डा। लक्ष्मीनारायण यादवका अनुसार गएको दुई महिनामा सर्पले टोकेर उपचारका अस्पताल आउने बिरामीको संख्या बढेको छ। उनले सबै सर्पको टोकाइ विषालु नहुने बताए। विषालु सर्पले टोकेको खण्डमा भने एन्टी भेनम भाइल चलाउनुपर्ने उनले जानकारी दिए। उनका अनुसार सर्पको उपचारमा प्रयोग हुने एन्टी भेनम भाइल कोशी अस्पतालमा मात्र उपलब्ध हुने हुँदा बिरामीको संख्या बढ्ने गरेको हो। अस्पताल प्रशासनका अनुसार गएको दुई महिनामा ८० जना सर्पले टोकेका बिरामीको उपचार गरिएको छ। जेठमा सर्पले टोकेका ३५ जना बिरामीको उपचार गरिएको छ। जसमध्ये विषालु सर्पले टोकेका दुई जनामा ५० भाइल एन्टिभेनम औषधि प्रयोग गरिएको छ। अस्पतालका अनुसार जिल्लाभित्र र अन्य क्षेत्रबाट उपचारका लागि पुगेका ३५ जनामध्ये १७ पुरुष र १८ जना महिला रहेका छन्। अस्पतालका अनुसार १४ वर्षमुनिका बालबालिका १२ जना र १५ वर्षमाथिका २३ रहेका छन्। असारमा ४५ जना सर्पले टोकेका बिरामीले उपचार सेवा लिएका छन्। जसमा ८ जनालाई विषालु सर्पले टोकेको अस्पतालले जनाएको छ। असारमा २५ जना पुरुष र २० जना महिला उपचारका लागि अस्पतालमा भर्ना भएका हुन्।

