इटहरी । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवति रमण भण्डारीले उदयपुरको गाइघाट स्थित यातायात व्यवस्था कार्यालयको अनुगमन गर्नुभएको छ । नागरिकले सिधा रूपमा सेवा लिने महत्त्वपूर्ण कार्यालयमध्ये पर्ने यातायात कार्यालयमा सेवा प्रवाह, कर्मचारी व्यवहार, सूचनाको पहुँच, भौतिक संरचना र प्रणालीगत कमजोरीबारे जानकारी लिन मन्त्री स्वयं अनुगमनमा निस्किनुभएको थियो । मन्त्री भण्डारीको सचिवालय सहितको टोलीले कार्यालयको विभिन्न शाखाहरू अवलोकन गर्दै कार्यालय प्रमुख तथा कर्मचारीहरूसँग छलफल गरेका थिए। अनुगमनको क्रममा मन्त्री भण्डारीले नागरिकले दैनिक रूपमा सेवा लिने यातायात कार्यालयमा व्याप्त समस्याहरूलाई सम्बोधन गर्न निर्देशन दिनुभयो । उहाँले कार्यालय परिसरमा सेवा लिने नागरिकहरूसँग समेत संवाद गर्दै सुझाव संकलन गर्नुभयो । कतिपय सेवाग्राहीहरूले लामो लाइन, ढिलो सेवा, घुसप्रथा र जानकारीको अभाव जस्ता समस्या राखेका थिए । मन्त्री भण्डारीले ती गुनासोहरू गम्भीर रूपमा लिने प्रतिबद्धता जनाउँदै दोषी भेटिएमा कारबाहीको संकेत दिनुभयो । यातायात व्यवस्था कार्यालय गाइघाटका प्रमुख बेनी बहादुर कार्कीले मन्त्री भण्डारीलाई कार्यालयको हालको अवस्था, कार्य प्रणाली, प्रविधि प्रयोग, जनशक्ति अभाव र भौतिक पूर्वाधारको कमीबारे जानकारी गराउनुभएको थियो । अनुगमनको क्रममा कार्यालयमा रहेका पुराना फाइल व्यवस्थापन, सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण प्रक्रिया, नवीकरण तथा सवारी दर्ता प्रणालीमा देखिएका ढिलाइबारे पनि समीक्षा गरिएको थियो । यसअघि पनि मन्त्री भण्डारीले प्रदेशका विभिन्न सरकारी कार्यालयहरूको अनुगमन गर्दै आउनु भएको छ । सेवा प्रवाहमा सुशासन, पारदर्शिता र जवाफदेहिताको सुनिश्चितता गर्न उहाँको मन्त्रालयले नियमित अनुगमनलाई प्राथमिकतामा राखेको छ ।