इटहरी । षडानन्द नगरपालिका १० रिठ्ठाबोटमा रहेको चण्डीका आधारभूत विद्यालयलाई घेराबारा गरिएपछि पठनपाठनमा सहजता भएको छ । एकान्तमा रहेको विद्यालयमा पशुचौपाया तथा मानिसहरुले उपद्रो गर्दा विद्यालयमा क्षति पुग्दै आएको अवस्थामा घेराबारा गरिएपछि सहजता भएको हो । विद्यालय क्षेत्रमा पशुचौपाया चराउन ल्याउदा पठनपाठनमा असहजता भइरहेको अवस्थामा घेराबाराले सहजता भएको विद्यालयका प्रधानाध्यापक प्रशुराम काफ्ले बताउनुभयो । मुलबाटो छेउको विद्यालय भएकाले घेराबारा भएपछि विद्यालय सञ्चालनमा सहजता भएको उहाँको भनाइ छ । नजिककै हाटबजार लाग्ने भएकाले मादक पदार्थ खाएर मानिसहरु प्रबेश गरिदिँदा धेरै समस्या रहेकोमा अहिले सहजता भएको उहाँको भनाइ छ । 

घेराबारा नहुँदा विद्यालय सञ्चालनमा समस्या भएपछि वडाले रु।दुई लाख बजेट विनियोजन गरेर घेराबारा लगाएको वडाध्यक्ष पेमदोर्ची शेर्पाले बताउनुभयो । विद्यालयसँगै विद्यार्थीको सुरक्षाको लागि अन्य कामलाई थाती राखेर विद्यालयको घेराबारा गरिएको उहाँले  बताउनुभयो । वडाले स्थानीयको माग र आवश्यकताको आधारमा विकासका कामलाई अघि बढाएको उहाँको भनाइ छ । वडाको काममा पारदर्शिता ल्याउन वर्षभरी सञ्चालन भएका काम र भावी दिनमा हुन लागेका योजना लाई स्थानीय भेला गरेर  सार्वजनिक सुनुवाईमार्फत जानकारी दिँदै आएको उहाँको भनाइ छ ।