इटहरी । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारकी सविना राई कसजू पनि फूलको सौखिन हुनुहुन्थ्यो । घर आँगन सजाउने रहरले एउटा, दुईवटा बोट रोप्दारोप्दै घर आसपास फूलले ढाक्यो । अन्ततः त्यही सौख व्यवसायमा परिणत भयो । उहाँको नर्सरीमा हाल १०० बढी प्रजातिका फूलका बिरुवा छन् । प्रति बिरुवा रु १५० देखि रु दुई हजार ५०० सम्मका फूलका बिरुवा उहाँको नर्सरीमा पाइन्छ । बगनबेली, लालुपाते, बेगुनिया, एजेलिया, गोदाबारी, पिटोनिया, भर्विना, ग्लाग्सोनिया, सिजेनियम, लिलियम, यन्थोरियम, डेन्थस, गजनिया, जर्भेरा, क्रिसमस ट्री, गोलक्रस, साइकस, सल्फेरा, सिपोटियम, स्नोह्वाइट, चाईना डललगायत प्रजातिका फूलका बिरुवा नर्सरीमा ढकमक्क छन् ।

उत्पादन भएकामध्ये सबैभन्दा बढी बगनबेली, लालुपाते, बेगुनिया र एजेलिया प्रजातिका फूलका बिरुवा बिक्री हुने गरेको उहाँले बताउनुभयो । ग्राहकको माग बढ्दै गएपछि रु चार लाख लगानीमा सुरु गरेको पुष्प व्यवसाय यस वर्षदेखि थप विस्तार गर्ने तयारीमा हुनुहुन्छ । आम्दानीसमेत दिन थालेपछि व्यवसाय थप विस्तार गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो । “मलाई फूलसँग खेल्न रमाईलो लाग्छ । धेरैजसो समय फूलको बगानमै हुन्छु । तीनवटा प्लाष्टिक टनेल बनाएर व्यावसायिक फूल खेती सुरु गर्नुभएका सविनालाई उहाँका श्रीमान इन्द्र कसजूले सहयोग गर्दै आउनुभएको छ । फूलका बिरुवा खरिद गर्ने ग्राहक जिल्लाभित्र र बाहिरका समेत छन् । आधिकारिक रुपमा फर्म दर्ता गरेर फूलको बिरुवा उत्पादन गरेर बिक्री गर्नेगरी व्यवसायिक खेती सुरु गरेको पहिलो वर्षबाटै नर्सरीले आम्दानी दिन थालेको सविनाले बताउनुभयो ।

हाल उहाँले वार्षिक खर्च कटाएर रु एक लाख जति बचत गर्न थाल्नुभएको छ । विस्तारै आम्दानी वृद्धि हुने अनुमान उहाँको छ । दुई वर्षअघि इलाम र पाँचथरबाट खरिद गरेर ल्याइएका फूलका बिरुवालाई मूल बोटको रुपमा विकास गर्दै बिरुवा उत्पादन गरेर बिक्री गर्न थाल्नुभएको थियो । केही समययता जिल्लामा हुने विभिन्न कार्यक्रममा उहाँकै नर्सरीमा उत्पादित फूलको प्रयोग गर्ने गरिएको छ ।  सदरमुकाम दिक्तेल बजारमै पक्की घरहरु धमाधम बनिरहेकाले घरहरुमा सजाउन पनि स्थानीयले फूलका बिरुवा खरिद गर्नेक्रम बढ्दै गएको छ । नर्सरीको आम्दानीले छोराको पढाइ तथा घर खर्च टार्ने गरेको सविनाले बताउनुभयो ।