इटहरी । नेपाल शिक्षक संघ सुनसरीको दोस्रो जिल्ला प्रतिनिधी सभा शनिबार इनरुवामा सम्पन्न भएको छ । कार्यक्रममा वर्षभरीका गतिविधी र भावी कार्ययोजना समेटिएको सांगठानिक प्रतिवेदन जिल्ला शाखा सचिव रोवनराज कार्कीले प्रस्तुत गर्नुभयो । आर्थिक गतिविधी समेटिएको प्रतिवेदन अर्थ सचिव कासीराम चौधरीले पेस गर्नुभयोे । नेपाली काँग्रेस कोशी प्रदेश सदस्य दामोदर दाहालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा धरान नगर अधिवेसन हुन नसकेको अवस्थामा पुरानै समितिलाई काम गर्न दिने निर्णय भएको छ । धरानमा यसअघि आशबहादुर राईको नेतृत्वमा रहेको समितिलाई अर्को अधिवेसन नहुँदा सम्म काम गर्न दिने निर्णय भएको जानकारी दिइयो । सुनसरी जिल्लाका १२ वटै पालिकाबाट सहभागिता रहेको कार्यक्रममा विशिष्ट अथिति नेपाल विद्यार्थी संघ सुनसरी अध्यक्ष प्रमोद भट्टराई, नेपाल शिक्षक संघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष सुरेश चौधरी, अर्थ महासचिव इन्दिरा कट्वाल लगायतले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । कार्यक्रम नेपाल शिक्षक संघ सुनसरी अध्यक्ष वेणुप्रसाद सिग्देलको सभापतित्वमा भएको थियो ।