इटहरी | राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) कोशी प्रदेशको तेस्रो वार्षिक साधारणसभा इटहरीमा शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। साधारणसभामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका शैक्षिक परामर्श व्यवसायमा संलग्न व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
साधारणसभामा बोल्दै मन्त्री भण्डारीले शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन प्रदेश सरकारबाटै दर्ता, अनुमति, नविकरण तथा अनुगमन गर्ने व्यवस्था मिलाइने बताएका थिए। उनले शैक्षिक परामर्श सेवा सही ढंगले सञ्चालन हुन सकेमा विद्यार्थीहरूलाई सहज हुने र ठगीका घटना न्यूनीकरण गर्न सकिने धारणा राखे। साथै, व्यवसायीहरूको अधिकारको संरक्षणका लागि कानुनी व्यवस्थाहरू प्रभावकारी रूपमा लागू गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए।
राष्ट्रिय शैक्षिक परामर्श संघका केन्द्रीय अध्यक्ष सन्तोष प्याकुरेल ले शैक्षिक परामर्श व्यवसायलाई नियमन गर्ने जिम्मेवारी प्रदेश सरकारमार्फत भए व्यवसायीहरूलाई सजिलो हुने बताए। उनले संघले व्यवसायीहरूको हकहितको संरक्षणका लागि निरन्तर काम गरिरहेको उल्लेख गर्दै सरकारसँग सहकार्य गरेर व्यवसायलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा राष्ट्रिय शैक्षिक परामर्श संघ कोशी प्रदेशका पूर्वअध्यक्ष मोहन विक्रम तिगेला, सहयोगी संस्था आइडीपीकी प्रतिनिधि श्रीषा कँडेल, भारतको चण्डीगढ विश्वविद्यालयका प्रतिनिधि तरुण खन्ना लगायतका वक्ताहरूले पनि आफ्ना विचार राखेका थिए। उनीहरूले शैक्षिक परामर्श व्यवसायलाई अझै पारदर्शी, विधिपरक र विद्यार्थीमैत्री बनाउनका लागि आवश्यक सुधारका उपायहरूबारे सुझाव दिएका थिए।
यस साधारणसभाले रिक्त रहेको कोषाध्यक्ष पदमा इटहरीका चन्दन माझीलाई चयन गरेको छ। साथै, कार्य समिति सदस्यहरूमा इटहरीका विनोद कोइराला, किरण कुमार थापा र धरानकी केशरी राईलाई मनोनयन गरेको छ। नवनियुक्त पदाधिकारीहरूले व्यवसायीहरूको हकहितको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
साधारणसभाको बन्द सत्रमा संस्थाका सचिव नरेन्द्र दंगालले वार्षिक प्रगति विवरण तथा आगामी कार्ययोजना प्रस्तुत गरेका थिए। उनले संघले अघिल्लो वर्ष गरेका उपलब्धिहरू, सामना गर्नुपरेका चुनौतीहरू र आगामी दिनमा केन्द्रीत हुने प्राथमिकताहरूबारे विस्तृत रूपमा जानकारी गराए।
त्यसैगरी, नवनियुक्त कोषाध्यक्ष चन्दन माझीले संघको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। उनले संघको आर्थिक स्थितिको बारेमा प्रष्ट पार्दै पारदर्शिता कायम गर्दै स्रोत व्यवस्थापनमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे।
राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) कोशी प्रदेशमा ३० वटा शैक्षिक परामर्श संस्थाहरू आवद्ध छन्। संघले विशेष गरी विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई परामर्श प्रदान गर्ने संस्थाहरूलाई समेट्दै आएको छ।
साधारणसभाका क्रममा संघका सदस्यहरूले भविष्यमा शैक्षिक परामर्श व्यवसायलाई अझ व्यवस्थित बनाउन विभिन्न महत्वपूर्ण सुझावहरू राखेका थिए। सहभागी व्यवसायीहरूले शैक्षिक परामर्श सेवाका नाममा हुने अनियमितता रोक्न र सरकार तथा सरोकारवाला निकायसँग समन्वय गरेर व्यवसायलाई मर्यादित रूपमा अघि बढाउने माग गरेका थिए।
साधारणसभा संघका कोशी प्रदेश अध्यक्ष सन्तोष लिम्बूको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन संघका सचिव नरेन्द्र दंगालले गरेका थिए। संघले आगामी वर्ष अझ प्रभावकारी रूपमा काम गर्ने, नीति निर्माणमा सक्रियरूपमा संलग्न हुने र व्यवसायीहरूको हितका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै साधारणसभा समापन गरिएको थियो।


