इटहरी । इलामको चुलाचुली गाउँपालिका –५ की रुमा राईको आर्थिक अवस्था दयनीय छ । बिहान बेलुकाको छाक टार्न धौधौ पर्ने रुमा सुत्केरी हुँदा वडाध्यक्षसहित स्थानीयले उहाँलाई घरमै भाले कुखुरा उपहार दिनुभएको छ । चुलाचुली –५ का वडाध्यक्ष बविन राई सहितका जनप्रतिनिधीले भाले, घिउ र हर्लिक्स बोकेर घरमा आएको उहाँले बताउनुभयो । घरमै पोसीलो खानेकुरा पाउँदा खुशी लागेको रुमाले बताउनुभयो । रुमा मात्र होइन, चुलाचुली –५ चपेटीका धनकुमारी राईको कथा पनि उस्तै छ । सामान्य परिवारका धनकुमारी सुत्केरी भएको बेला जनप्रतिनिधिको समूह घरमै पुगेर पोसिलो खानेकुरा दिँदा उहाँलाई पनि सरकार साथमै रहेको महसुस भएको बताउनुभयो । चुलाचुलीले आर्थिक वर्ष २०८०–८१ बाट सुरक्षित मातृत्व प्रसुति स्याहार कार्यक्रम सुरु गरी घरमै पोसिलो खानेकुरा वितरण गर्न थालेको छ । सुरक्षित मातृत्व र जन्मदर्तालाई प्रभावकारी बनाउन वडाले सुरु गरेको कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८०–८१ मा ४५ जना सुत्केरीलाई भालेसहितको पोसिलो खानेकुरा विवरण गरिएको थियो । चालु आर्थिक वर्षको ६ महिनामा वडाका २५ जना सुत्केरीलाई भाले, घिउ र हर्लिक्ससहितका पोसिलो आहार वितरण गरी सकिएको वडा ५ का वडाध्यक्ष बविन राईले जानकारी दिनुभयो । वडाका मांसाहारी सुत्केरीलाई घरमै गएर वडाले एउटा भाले, एक किलोग्राम घिउ र आधा किलोग्राम हर्लिक्स दिइने गरिएको छ । साहाकारी सुत्केरीलाई वडाले दुई किलोग्राम घिउ र एक किलोग्राम हर्लिक्स वितरण गर्दै आएको छ । बच्चा जन्मिएको ३५ दिन भित्रमा वडा कार्यालयमा जन्मदर्ता गराउनु पर्ने सरकारको नियमलाई प्रभावकारी बनाउन वडाले उक्त अभियान सञ्चालन गरेको वडाध्यक्ष राईले जानकारी दिनुभयो । उहाँले सो कार्यक्रम सञ्चालन गरिए पनि जन्मदर्ता समयमै गराउने गरिएको, स्वास्थ्य स्वयमसेवीका वडामा परिचालित भएको, स्वास्थ्य संस्थामै गएर गर्भवती जाँच गराउने क्रम बढेको र सुत्केरी आमाको खानपानमा सुधार भएर बच्चाको स्याहार पुगेको बताउनुभयो । चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले वडाले गरेको सुत्केरी स्याहार कार्यक्रम प्रभावकारी देखिएकाले पालिकाले आउने वर्ष सबै वडामा सो कार्यक्रम सञ्चालन गर्न प्रेरित गरिने जानकारी दिनुभयो ।

