इटहरी । वन विभागबाट रुख कटान अनुमति प्राप्त नहुँदा मदन भण्डारी राजमार्गको सडक र पुल निर्माण प्रभावित भएको छ । राजमार्गको पूर्वी खण्डअन्तर्गत झापाको बाहुनडाँगीबाट सुनसरीको धरानसम्म ९५।८ किलोमिटर सडक हाल निर्माणाधीन छ । उक्त खण्डमा ३७ वटा पुल छन् । वन विभागबाट रुख कटान अनुमति नआउँदा मुख्य सडक र पुलको पहुँचमार्ग निर्माणमा विलम्ब भइरहेको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय दमकका सूचना अधिकारी सुभाषकुमार दत्तले बताए । उनका अनुसार झापा, इलाम, मोरङ र सुनसरी जिल्लाको २४ दशमलव ५४ किलोमिटर राजमार्ग वन क्षेत्रमा पर्छ । वनको ५१ हेक्टर जग्गामा १३ हजार ८३४ वटा रुख कटान गर्नुपर्ने भएकाले भोगाधिकार र रुख कटानका लागि आयोजना कार्यालयले मन्त्रिपरिषद् र वन विभागसँग अनुमति मागेको थियो । मन्त्रिपरिषद्ले गत मंसिर ६ गते मोरङको २१ हेक्टर र सुनसरीको १४ हेक्टर गरी कूल ३५ हेक्टर वन क्षेत्रको जग्गाको भोगाधिकार राजमार्गका लागि दिने निर्णय गरिसकेको छ । वन विभागसँग उक्त जग्गाको सात हजार ६६३ वटा रुख कटानका लागि सम्झौताको प्रक्रिया अघि बढेको दत्तले जानकारी दिए । झापाको १० हेक्टर र इलामको ६ हेक्टर वन क्षेत्रको भोगाधिकार र त्यहाँ रहेका ६ हजार २७१ वटा रुख कटानको अनुमति अझैसम्म प्राप्त भइसकेको छैन । भोगाधिकार तथा रुख कटानको फाइल वन तथा भू–संरक्षण विभागबाट वन तथा वातावरण मन्त्रालयमा पेस हुने प्रक्रियामा रहेको आयोजना कार्यालयका सूचना अधिकारी दत्तले बताए ।  हालसम्म राजमार्गको ९५।८ किमी लामो पूर्वी खण्ड ९झापा, इलाम, मोरङ र सुनसरी०मा ४१।६८ किमी सडक कालोपत्र भइसकेको छ । २२ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् । पूर्वको झापाबाट पश्चिमको डडेलधुरा जिल्ला जोड्ने उक्त राजमार्ग चुरे महाभारत क्षेत्रमा निर्माणाधीन छ । यसको कूल लम्बाइ एक हजार २०० किलोमिटर रहेको छ । धरानबाट हेटौँडासम्मको ३०० किमी सडक निर्माण सम्पन्न भइसकेको छ । पूर्वी खण्डमा धमाधम कार्य भइरहेको आयोजना कार्यालयले जनाएको छ ।