इटहरी। धनकुटाको साँगुरीगढी गाउँपालिकाले ध्वजेडाँडा र खुवालुङ जोडेर पर्यटक प्रवर्द्धन गर्न पदमार्ग निर्माण सुरु गरेको छ । खुवालुङ किँरातहरुको सभ्यतासँग जोडिएको स्थान हो । त्यस्तै ध्वजेडाँडा पालिकाको सबैभन्दा अग्लो स्थान सहित महत्वपुर्ण पर्यटकिय गन्तब्य हो । अरुण, तमोर र सुनकोशी नदी मिसिने स्थान त्रवेणीमा रहेको खुवालुङलाई महाभारत पर्वत श्रृंखला अन्र्तगतका डाँडैडाँडा ध्वजेडाँडासँग जोड्न लागिएको हो । गाउँपालिकालाई दिर्घकालीन पर्यटकीय हवको रुपमा विकास गर्न पदमार्ग निर्माण गरिएको हो । गाउँपालिका भरिका १० वडामध्ये ५, ६, ७, ८, ९ र १० गरी ६ वडाहरुलाई पदमार्गले समेट्ने छ । ध्वजेडाँडा देखि त्रिवेणी हुँदै खुवालुङसम्मको पदमार्गको कुल लम्वाई ३८।२ किलोमिटर रहेको इञ्जिनियर दिपक राईले जानकारी दिनुभयो । करिब २ दिनमा पदमार्गको यात्रा पुरा गर्न सकिन्छ । पदमार्गको सुरुवाती विन्दु ध्वजेडाँडालाई मानिएको छ । ध्वजेडाँडाबाट सूर्योदय र सूर्यास्तको दृश्य हेर्न मिल्ने छ । त्यस्तै तराईका समथर फाँट सँगै मकालु, सगरमाथा कुम्भकर्ण, कञ्चनजंगा नेपाल भारत र भुटान गरी तीन देशका हिमाल देख्न सकिन्छ । ध्वजेडाँडाबाट सुरु हुने पदमार्ग ५ नं। वडाको ओख्रे बजार, ६ नं। वडाको नाम्जे बजार, आत्माघर, जनजाती पार्क, भेडेटार बजार, पाथिभरा मन्दिर हुँदै साँगुरीगढी, ७ नं। वडाको टोपेटेम्बा, ८ नं। वडाको रनफने डाँडा, ९ नं। वडाको झण्डीडाँडा, दाक्वुङ, राँके, चारपोखरी, वडुवाडाँडा, १० नं। वडाको लिम्बूचौतारा, चाम्राङ, भालेलु, ताङकेरा साङकेम्मा हुँदै त्रिवेणी खुवालुङसम्म रहेको छ । यी दुई गन्तब्य जोड्न सके साँगुरी गढी गाँउपालिकाका विभिन्न स्थान जोडिनुको साथै भेडेटार घुम्न आउने आन्तरिक तथा वाह्रय पर्यटकलाई नया गन्तब्य मिल्ने साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले जानकारी दिनुभयो । गाउँपालिकाले गत आर्थिक वर्षमा पदमार्गका लागि ४० लाख रुपियाँ बजेट विनियोजन गरेको थियो । उक्त रकमबाट मार्गको विभिन्न स्थानमा संरचना निर्माण गरिएको थियो । पदमार्गमा पर्ने झाँडीहरुको सरसफाई, डेढ मिटर चौडाहा भएको करिव ६ किलोमिटर लम्वाईको फुट ट्रयाक, ७ किलोमिटर क्षेत्रका विभिन्न स्थानमा सुख्खा वाल लगायतको संरचना निर्माण गरेको थियो । बाँकी संरचना निर्माणको लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा ३० लाख रुपैया बजेट विनियोजन गरेको छ । यो क्षेत्रमा विशेषगरी राई, लिम्बु, मगर जातीहरुको जातीय संस्कार हेर्न सकिन्छ । स्थानीय वालीनाली, वन्यजन्तु, हरियाली तथा मनोरम दृष्य, स्थानीय वनस्पति तथा जैविक विविधतालाई नजिकबाट नियाल्न सकिने खुवालुङ–त्रिवेणी–ध्वजेडाँडा पदमार्ग उपभोक्ता समितिका अध्यक्ष नगेन्द्र राईले बताउनुभयो ।


