इटहरी । वरिष्ठ कवि कृष्णभूषण बलको स्मृतिमा स्थापित प्रतिष्ठानले साहित्यका विभिन्न विधामा लामो समयदेखि कलम चलाउने स्रष्टाहरूलाई पुरस्कृत गरेको छ । कृष्णभूषण बल स्मृति प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ कवि शैलेन्द्र साकारसहित ४ जना स्रष्टालाई पुरस्कृत गरेको हो । प्रतिष्ठानले गीतकार शिवशंकर थापा, कवि एवं गजलकार प्रेम ओझा र कवि शुभलक्ष्मी लम्साललाई पनि पुरस्कृत गरेको छ । साकार र थापालाई जनही २५–२५ हजार, ओझालाई १५ हजार र लम्साललाई ११ हजार राशिसहित सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, आयोजक संस्थाकी प्रमुख संरक्षक शोभा लामा बल, कार्यबाहक अध्यक्ष केशव आचार्य, महासचिव विवश पोखरेल, साहित्यकार खेम नेपालीलगायतले दोसल्ला ओढाएर नगद र सम्मानपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले कृष्णभूषण बलले नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएर गएको चर्चा गर्नुभयो । उहाँले थोरै सिर्जना गरेर पनि बलले प्रसिद्धि कमाएको बताउनुभयो । कार्यक्रममा वरिष्ठ आख्यानकार कृष्ण धरावासी, विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, अग्रज साहित्यकार खेम नेपाली, कवि मुनाराज शेर्मा, गोकुल अधिकारी, निर्मला कोइराला, रमेशचन्द्र अधिकारीलगायतले कृष्णभूषण बलको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्नुभएको थियो । कवि कृष्ण बराल, सीमा आभास, सुदिप पाख्रिन, रोशन परियारलगायतले बलले लेख्नुभएका कविता वाचन गर्नुभयो । प्रतिष्ठानले हरेक वर्ष साहित्य विभिन्न विधामा कलम चलाउने स्रष्टाहरुलाई पुरस्कृत गर्दै आएको छ ।


