भोजपुर / भोजपुरको चखेवा डाँडामा सांस्कृतिक पर्यटन तथा कृषि मेला सुरू भएको छ ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले आयोजना गरेको सांस्कृतिक पर्यटन तथा कृषि मेलाको उद्घाटन संघिय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले गर्नु भएको हो । मुन्धुम पदमार्गको प्रवद्र्धन र विकासमा महत्त्वपूर्ण योगदान पुर्याउनेलाई सम्मान गरिएको थियो ।
टेम्केमैयुङ गाउँपलिका अध्यक्ष सरोज बस्नेतले मुन्धुम पदमार्ग सम्बन्धि अबधारणा पत्र प्रस्तुत गर्नु भएको थियोे । मुन्धुम पदमार्गलाई दिगो विकासको लक्ष्यका साथ मेला आयोजना गरिएको गाउँपालिका अध्यक्ष बस्नेतले बताउनुभयो ।
मुन्धुम पदमार्गलाई संरक्षण प्रवद्र्धन गरि अगाडि बढ्ने प्रमुख अतिथि संघिय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले बताउनुभयो ।
पर्यटनलाई संस्कृति र खाना सँगै अगाडि बढाउनु पर्ने विशिष्ट अतिथि पुर्व मन्त्री सुदन किराँतीले बताउनुभयो । उद्घाटन समारोहमा नाक्छोङहरूको मुन्दुमी प्रदर्शनी र जारोह व्याण्डको सांगीतिक प्रस्तुति , साकेला नाच आकर्षणको रूपमा प्रस्तुत गरिएको थियो ।
कार्यक्रम विभिन्न स्थानीय गाउँपालिका नगरपालिकाका प्रमुख , स्थानीय तहका पदाधिकारीहरूको उपस्थिति रहेको थियोे । माघ २ गते साकेला नृत्य प्रस्तुती गरिने भएको छ ।
त्यसै गरि माघ ३ गते पर्यटन बहस कार्यक्रम आयोजना हुने भएको छ, जहाँ पर्यटनसँग सम्बन्धित व्यक्तित्वहरूसँग बृहत छलफल गरिनेछ । माघ ४ गते धनुष बाण प्रतियोगिता आयोजना गरिनुका साथै राष्ट्रिय कलाकार मनोज गजुरेल, भिषण मुकारूङ लगायतका कलाकारहरूले सांङगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ ।
माघ ५ गते गायक शिव परियारको सांङगीतिक प्रस्तुति हुने छ । एक लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ गाउँपालिकाले भ्रमण वर्ष र सांस्कृतिक तथा कृषि मेला आयोजना गरी विभिन्न कार्यक्रमहरू तय गरेको हो ।


