इटहरी । रामधुनी नगरपालिकामा क्षयरोग नियन्त्रण कार्यक्रमको वार्षिक समीक्षा तथा कोहोर्ट विश्लेषण सम्पन्न भएको छ । आइतबार रामधुनी स्वास्थ्य शाखाको आयोजनामा नगरपालिकाको सभा हलमा भएको कार्यक्रममा नगरपालिकाका ९ वटा वडाका स्वास्थ्य संस्थाका प्रतिनिधिहरूको सहभागीता रहेको थियो । गत वर्ष रामधुनीमा ८७ जना क्षयरोगका बिरामी पहिचान गरिएको थियो । नगरपालिकाले क्षयरोग नियन्त्रणका लागि विभिन्न संघसंस्थासँग सहकार्य गर्दै उपचार, सचेतना र रोकथामका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । बागमती सेवा समाजको विशेष सहयोगमा गरिएको यस वार्षिक समीक्षा कार्यक्रममा क्षयरोग रोकथाम र व्यवस्थापनमा नगरका प्रयासलाई थप सशक्त बनाउन आवश्यक रणनीतिहरूको छलफल गरिएको बागमती सेवा समाजका प्रतिनिधी सुजता श्रेष्ठले बताउनु भयो । कार्यक्रममा रामधुनी स्वास्थ्य शाखाका नगेन्द्र पौडेलले क्षयरोग नियन्त्रणका लागि नगरका हरेक वडामा सामुदायिक स्वास्थ्य संस्थाहरूको भूमिका महत्वपूर्ण रहेको र नगरपालिकामा क्षयरोग नियन्त्रणका लागि धेरै कार्यहरू भए पनि सबै पक्षहरूको थप सक्रियता र सहकार्य आवश्यक रहेको पौडेलले बताउनुभयो । नगरले क्षयरोगको दर घटाउन ठोस योजना निर्माण गर्ने र नगरका सबै स्वास्थ्य निकायहरूलाई अझ बढी क्रियाशील बनाउने प्रयास गरिरहेको रामधुनी नगरपालिकाका उपप्रमुख तारा थापाले जानकारी दिनुभयो ।


