इटहरी । मौलिक कला, संस्कृति, भाषा, भेषभूषा र पहिचानको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले इटहरी उपमहानगरपालिका वडा नं. २० वडा कार्यालयद्वारा आयोजित ‘चौथो संस्कार’का रूपमा एकदिवसीय सांस्कृतिक कार्यक्रम शुक्रबार तरहरामा सम्पन्न भएको छ ।

सगरमाथा खेलमैदान, बिहिबारे बजारमा आयोजित उक्त कार्यक्रम वडा अध्यक्ष मणिराम श्रेष्ठको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रमको सुरुमा विभिन्न जातजाति तथा समुदायका मौलिक पहिरनमा सजिएका स्थानीयवासीले तरहरा बजार परिक्रमा गर्दै सांस्कृतिक झाँकी प्रदर्शन गरेका थिए । त्यसपछि खेलमैदानमा आयोजित औपचारिक समारोहमा विभिन्न भाषाभाषीका मौलिक नृत्य तथा कलात्मक प्रस्तुतिहरू राखिएका थिए । एउटै मञ्चमा विभिन्न समुदायका सांस्कृतिक झलक देखाइँदा कार्यक्रम अत्यन्त आकर्षक बनेको थियो।

बहुजातीय र बहुसांस्कृतिक समाजको प्रतिनिधित्व गर्ने सो कार्यक्रमले आपसी सद्भाव, एकता र भाइचाराको गहिरो सन्देश दिएको छ । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनीतिकर्मी, सामाजिक अभियन्ता, बुद्धिजीवी, आमा समूह, युवा तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। आधुनिकताको प्रभावसँगै ओझेलमा पर्दै गएका मौलिक कला र संस्कृतिलाई पुराना पुस्ताबाट नयाँ पुस्तामा हस्तान्तरण गर्न स्थानीय तहबाट भएको यस किसिमको प्रयासले इटहरीको सांस्कृतिक विविधतालाई थप सुदृढ बनाउने विश्वास गरिएको छ ।