इटहरी /  इटहरीमा पछिल्लो समय बहुला कुकुरको आतंकले स्थानीय बासिन्दालाई त्रसित बनाइरहेको छ। साउन महिनायता रेबिजको संक्रमणले ८ वटा पशु मरेका छन् भने चार दर्जनभन्दा बढी पशु र तीन जना मानिस घाइते भएका छन्। घर आँगनमा प्रवेश गरेर कुकुरले दुहुना पशु र मानिसहरूलाई आक्रमण गर्न थालेपछि इटहरीको विभिन्न वडामा स्थिति भयावह बनेको छ।

साउन ७ गतेदेखि सुरु भएको यो समस्या इटहरीको वडा नं. १, २, ५, र २० मा व्यापक देखिएको छ। इटहरी उपमहानगरपालिकाका पशु चिकित्सक दुर्गाबहादुर श्रेष्ठका अनुसार, यो अवधिमा ४२ भन्दा बढी पशु र मानिस घाइते भएका छन्, जसमा केहीको मृत्यु समेत भइसकेको छ। कुकुरको आक्रमणबाट प्रभावित पशुहरूलाई रेबिजविरुद्धको भ्याक्सिन लगाइएको भए पनि संक्रमणको त्रास अझै कायमै छ।

विशेषगरी, साउन ८ गते इटहरी वडा नं. २ मा ६ वर्षीया बालिकामाथि कुकुरले गरेको आक्रमणले यो समस्या थप गम्भीर बनेको छ। बालिकाको उपचार हाल कोशी अञ्चल अस्पतालमा भइरहेको छ। बहुला कुकुरहरूमध्ये एकको पहिचान भई मृत्युभएको छ भने अर्को कुकुरको खोजी कार्य जारी छ। यस क्रममा अन्य भुस्याहा कुकुरलाई नियन्त्रणमा लिएर भ्याक्सिनेसन गरिँदैछ।

इटहरी उपमहानगरपालिकाले भुस्याहा कुकुरहरूको संख्या नियन्त्रण गर्न विगतमा बन्ध्याकरण कार्यक्रम सञ्चालन गरेको भए पनि गत वर्ष यो कार्यक्रम रोकिएको थियो। तर, बहुला कुकुरको समस्या देखिएपछि मेयरको चासोमा पुनः बन्ध्याकरण र भ्याक्सिनेसन कार्यक्रमलाई तीव्रता दिइएको छ।

रेबिज संक्रमणको जोखिमलाई कम गर्न इटहरीका नागरिकहरूलाई सतर्क रहन र सम्भावित संक्रमित कुकुर वा पशुबाट टाढा रहन सल्लाह दिइएको छ। रेबिज लागेको शंका लाग्नासाथ भ्याक्सिन सुरु गर्दा रोगबाट जोगिन सकिन्छ, तर लक्षण देखिन थालेपछि उपचार सम्भव हुँदैन। यस समस्याको समाधानका लागि इटहरी उपमहानगरपालिकाले शीघ्र र प्रभावकारी कदम चाल्न आवश्यक छ।