यज्ञ कार्की
संखुवासभा / बिहानको झिसमिसे उज्यालोमा जब कुखुराको भाले बास्न थाल्छ, लाक्पा शेर्पा आफ्नो न्यानो ओछ्यान छोड्दै, हातमुख धोएर नजिकैको धना जङ्गलतर्फ लाग्छन्। ताप्लेजुङ जिल्लाको लेलेपमा जन्मिएका लाक्पाले आफ्नो बाल्यकाल गाउँमै बिताए र धरानको महेन्द्र माबीमा आइ.ए.सम्मको पढाइ गरेका थिए। केही समय शिक्षकको पेशामा पनि संलग्न रहेपछि उनी फेरि आफ्नो परम्परागत जीवनतर्फ फर्किए।
अहिले ६० वर्ष पार गरिसकेका शेर्पा आफ्नो जन्मथलो छोडेर संखुवासभाको मादी १ चौकी बजारमा बस्दै आएका छन्। उनका पाँच छोरी र दुई छोरा छन्। छोरीहरू विवाहपछि पराई घर गइसकेका छन्, तर छोराहरू सँगै छन्, यद्यपि रोजगारीविहीन छन्।
लाक्पा शेर्पाको दैनिकी धना जङ्गलमा मालिङगा काट्न जानु हो। यो जङ्गल, जसलाई स्थानीयले 'साईबेक' भन्छन्, मालिङगा का बोटहरूले भरिपूर्ण छ। विगत ४० वर्षदेखि उनले हजारौं डोका बनाएका छन्। पहिले दिनको ४/५ वटा डोका बनाउन सक्ने उनले अहिले उमेरले गर्दा दुई दिनमा एउटा मात्र बनाउन सक्छन्। हात र कम्मरको समस्याले गर्दा उनी लामो सास फेरेर आराम गर्न बाध्य छन्।
उनका छोराहरू ठूला भए पनि बेरोजगारीको समस्या उनीहरूको परिवारलाई चुनौती बनिरहेको छ। चुलोमा आगो बलिरहेको छ, तर आर्थिक अवस्था कमजोर रहेको छ। लाक्पा शेर्पा आफ्नो पुरानो गाउँ लेलेपमा फर्किन चाहन्छन्, तर दाजुभाइ विदेशमा भएकाले र गाउँमा लेखनपढन गर्ने कोही नभएकाले उनी अहिलेको बसोबासमै रहन बाध्य छन्।
लाक्पा शेर्पा बाल्यकालको सम्झना गर्दै भन्छन्, "ताप्लेजुङ पुग्न ढाकरमा नुन बोकेर यात्रा गर्नुपर्थ्यो।" सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै उनले भने, "गरीबहरूको अवस्था सुधारका लागि सरकारले कुनै ठोस कदम चालेको छैन।"
आज पनि गाउँघरमा चोया, डोको, नाम्लो, थुन्से बनाउने परम्परा जस्ताको तस्तै छ, र लाक्पा शेर्पाको जीवन यही परम्परागत सीप र साहसको जगेर्ना गर्दै अगाडि बढिरहेको छ ।


