संखुवासभा / नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दल सभापोखरीले शनिबार श्रमदान अभियान सञ्चालन गर्दै सार्वजनिक संरचनाको संरक्षण र सरसफाईमा उल्लेखनीय योगदान गरेको छ। सदरमुकाम खाँदबारीदेखि सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबिसे जोड्ने पक्की पुलको रंगरोगन र सरसफाई गरिएको छ।
यो पुल करिब ८-१० वर्षअघि निर्माण सम्पन्न भए पनि संरक्षणको अभावमा जीर्ण अवस्थामा पुगेको थियो। सभापोखरी गाउँपालिकाका अध्यक्ष भीमबहादुर लिम्बूका अनुसार, गाउँपालिकाले रंग लगायत आवश्यक सामग्रीहरु उपलब्ध गराएपछि, तरुण दलका युवाहरुले स्वतःस्फूर्त रुपमा श्रमदान गरेका थिए। उनले भने, "पालिकासँग स्रोत सीमित हुन्छ, तर युवाहरुले श्रमदान गर्दा स्थानीय सरकारलाई ठूलो सहयोग पुग्छ र युवाहरुलाई पनि आफ्नो गाउँप्रति अपनत्वको भावना जागृत हुन्छ।"
तरुण दल सभापोखरीका सभापति जीतमान घलेले तरुण दलले कुनै न कुनै रचनात्मक काम गर्नुपर्छ भन्ने सोचका साथ श्रमदान अभियान सञ्चालन गरिएको बताए। उनका अनुसार, हरेक साता कुनै न कुनै सार्वजनिक स्थलमा सरसफाई तथा संरक्षणका कामहरु गरिँदै आएको छ। "तरुण साथीहरुलाई एकजुट गर्दै रचनात्मक काममा योगदान गर्न प्रेरित गर्न यो अभियानले महत्वपूर्ण भूमिका खेलेको छ," सभापति घलेले भने।
युवाहरुको सक्रिय सहभागितामा सम्पन्न भएको यो अभियानमा अन्य राजनीतिक दलका युवाहरुको पनि उल्लेखनीय भूमिका रहेको छ। नेकपा माओवादी केन्द्र र नेपाल एकीकृत समाजवादी पार्टीका युवाहरुले पनि यो अभियानमा सँगै श्रमदान गरेका छन्।
सभापोखरी गाउँपालिकाको बाह्रबिसे—धुपु खाँदबारी सडकखण्डमा, भोटीखोला पुलदेखि सभाखोला पुलसम्मको क्षेत्रमा सडकको दायाँबायाँ रोपिएका चार सयभन्दा बढी विरुवाले हरियाली थप्ने काम गरेका छन्। यसअघि पनि तरुण दलले अन्तरपालिकास्तरीय पुरुष तथा महिला खुल्ला भलिबल प्रतियोगिताको आयोजना गरेको थियो।
सभापोखरीका युवाहरुले नियमित रूपमा सार्वजनिक स्थलहरुमा श्रमदान अभियान सञ्चालन गरेर स्थानीय संरचनाहरुको संरक्षण र समृद्धिमा योगदान गर्दै आएका छन्। आगामी शनिबार पनि कुनै न कुनै सार्वजनिक स्थलमा सरसफाई र संरक्षणका लागि अभियान चलाइने योजना रहेको छ ।


