विराटनगर —विराटनगरमा सञ्चालित प्रथम कोशी प्रदेश दिवा रात्रिकालीन टी–१० क्रिकेट प्रतियोगितामा ‘वान एक्स ब्याट’ को विज्ञापन प्रयोग गरेको भन्दै नेपाल क्रिकेट संघ (क्यान) ले अनुबन्धित सबै खेलाडी फिर्ता बोलाएको छ ।
क्यानले अनुबन्धित खेलाडीलाई बिहीबार फिर्ता बोलाएसँगै क्रिकेट अम्पायर स्कोरर एसोसिएसन (कुसान) ले पनि म्याच नखेलाउन निर्देशन गर्दै अम्पायर फिर्ता बोलाएको हो । क्यानले खेलाडी र कुसानले अम्पायर फिर्ता बोलाए पनि आयोजकले स्थानीय अम्पायर प्रयोग गरेर प्रतियोगितालाई निरन्तरता दिएको छ ।
विराटनगर महानगरपालिका–६ को आयोजनामा जेठ १३ देखि विराटनगर–६ स्थित एमबीजे क्रिकेट मैदानमा सञ्चालित प्रतियोगितामा स्थानीय ७ क्लबको सहभागिता छ । ती क्लबमा चार/चार जना भारतीय खेलाडी अनुबन्धित छन् । यसअघि क्यानले प्रतियोगिता आयोजना गर्न स्वीकृति दिँदै पीएमओए एरियाको व्यवस्थापन तथा सुरक्षाको जिम्मेवारी निर्वाह गर्न एसीयू प्रतिनिधि पठाउँदै खेलाडीसमेत उपलब्ध गराएको थियो ।
आयोजक विराटनगर महानगरपालिका–६ का वडाध्यक्ष अक्षय सहनीले क्यानले प्रतियोगिताको बीचमा खेलाडी फिर्ता बोलाएर प्रतियोगिता नै प्रभावित पारेको बताए । ‘विराटनगरको क्रिकेट विकासका लागि सडक निर्माणको बजेट ल्याएर प्रतियोगिता आयोजना गरेको थिएँ,’ उनले भने, ‘क्यानले वान एक्स ब्याटको विज्ञापन प्रयोग गरेको भन्दै खेलाडीलाई फिर्ता बोलाएर प्रतियोगिता नै भाँड्ने प्रयास गर्नु राम्रो भएन ।’ प्रतियोगिताका लागि वडा कार्यालयले ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जेठ १४ मै मोरङ जिल्ला क्रिकेट संघलाई पत्र पठाएर सचेत बनाएका थिए । ‘जिल्ला क्रिकेट संघको स्वीकृतिमा भइरहेको नेपाल टी–१० प्रतियोगिताको पहिलो संस्करणमा वान एक्स ब्याट कम्पनीको विज्ञापन प्रयोग भएको पाइएकाले त्यो प्रयोग नगराउनु हुन जानकारी गराउँछु,’ पत्रमा भनिएको थियो, ‘गत अप्रिलदेखि १ मे २०२३ सम्म काठमाडौंमा सञ्चालन गरिएको एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताका दौरान संघले वान एक्स ब्याट प्रयोग गर्दै गर्दा विज्ञापन बोर्डबाट सोधनी भई पटक–पटक स्पष्टीकरण पेस गरिएको र त्यसपछि सञ्चालन हुने कुनै पनि क्रिकेट प्रतियोगितामा वान एक्स ब्याटको विज्ञापन प्रयोग नगर्ने भनी नेपाल क्रिकेट संघको केन्द्रीय कार्यसमितिमा सहमति भएबमोजिम उक्त विज्ञापन प्रयोग नगर्न सचेत तुल्याइएको हो ।’
प्रतियोगितामा हुने गतिविधिबारे संघको कुनै जिम्मेवारी नरहनेसमेत पत्रमा उल्लेख गरिएको छ । क्यानले स्पष्टीकरण दिने समयसम्म पनि धैर्य नगरेर खेलाडी फिर्ता बोलाइ प्रतियोगिता प्रभावित पारेको आयोजको गुनासो छ ।
मोरङ क्रिकेट संघका अध्यक्ष महमदसाद बाबुले क्यानको सुझावलाई पालना गरेर प्रतियोगिता सञ्चालन गरिने बताए । ‘कुनै पनि क्रिकेट प्रतियोगितामा वान एक्स ब्याटको विज्ञापन प्रयोग नगर्नेबारेको सहमति हामीलाई चाहियो । नत्र क्यानका केही पदाधिकारीको लहडमा यत्रो लगानी र मिहिनेतले सञ्चालन गरेको प्रतियोगिता भाँड्न पाइँदैन,’ उनले भने, ‘क्यानको सुझावलाई पालना गरेर भए पनि यो प्रतियोगिता रोकिने छैन ।’ जेठ १३ देखि सुरु भएको प्रतियोगिताका बिहीबारसम्म १३ खेल सम्पन्न भएका छन् । जेठ १९ सम्म सञ्चालन हुने प्रतियोगितामा कुल २३ खेल खेलाउने तालिका थियो । यसैबीच क्यानले खेलाडी र कुसानले अम्पायर फिर्ता बोलाए पनि आयोजकले बिहीबार प्रतियोगितालाई निरन्तरता दिएको छ ।


