काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी
परिवारसहित आईसीसी विश्वकप क्रिकेट हेर्न अमेरिका प्रस्थान गरेका छन् । क्रिकेट
संघका अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष पदम खड्का श्रीमतीसहित अमेरिका
उडिसकेका छन् ।
उनीहरू मंगलबार अमेरिका प्रस्थान गरेका हुन् । अध्यक्ष चन्द त आईसीसीले
प्रदान गरेको खेलाडी र अफिसियलको २५ जनाको कोटामा समेत समावेश छन् । विश्वकप
खेल्ने टिमका लागि आईसीसीले २५ जनाको खर्च र भत्ताको व्यवस्था गर्ने गर्छ । जसले
गर्दा उनीहरू बिजनेस क्लासमा यात्रा गर्छन् भने अमेरिका बसाईको खर्च पनि आईसीसीले
नै बेहोर्ने गर्छ ।
आइसीसले क्यानलाई १५ जना खेलाडी, प्रशिक्षक र अफिसियलको कोटा
उपलब्ध गराएको थियो । क्यानकै सदस्य दिवाकर घले टिम लिडरको रूपमा रहेका छन् ।
नेपाली टिम झन्डै १ महिना अघि गए पनि घले भने गत साता मात्रै अमेरिका प्रस्थान
गरेका थिए । यस्तै, अर्का
केन्द्रीय सदस्य प्रदीप मजगैंया म्यानेजरको भूमिकामा रहेर टिमसँगै गइसकेका छन् ।
अध्यक्ष चन्द नेपाली कांग्रेसका बैतडी सभापति पनि हुन् । उनले काठमाडौँको
नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतलाई पनि विश्वकपका लागि अमेरिका लगेको
सामाजिक सञ्जालबाट प्रस्ट हुन्छ । सचिवसहित अन्य केन्द्रीय सदस्यहरू पनि केही
दिनमै अमेरिका प्रस्थान गर्ने तयारीमा छन् ।
विश्वकपका लागि युवा तथा खेलकुद मन्त्रालय र
राष्ट्रिय खेलकुद परिषद्का अन्य व्यक्तिहरू पनि जाने तयारीमा रहेको बुझिएको छ ।
तर,
नेपाली क्रिकेट टिमलाई विश्वकपमा पुर्याएका सन्दीप
लामिछानेको भने भिसा नपाउँदा अमेरिका जाने प्रक्रिया अन्यौलमा छ । लामिछानेको
विश्वकप खेल्ने अन्यौल भएका बेला क्यानका पदाधिकारीहरू श्रीमतीसहित अमेरिका गएपछि
सामाजिक सञ्जालमा क्यानको आलोचना भएको छ ।
यसअघि सन्दीपको भिसा २०२५ सम्म रहेकोमा उच्च अदालत
पाटनबाट सफाइ पाएपछि भिसा रद्द भएको जानकारी गराइएको थियो । त्यसपछि नयाँ
प्रक्रिया सुरु गर्दा अमेरिकी दूतावासले उनको भिसा रिजेक्ट गरेको थियो । यसबिचमा
क्यानका पदाधिकारीले नयाँ प्रक्रिया थालेको भन्दै मिडियामा बताए पनि त्यो सफल हुन
सकेको छैन । जसका कारण सन्दीपको विश्वकप खेल्ने सम्भावना लगभग समाप्त भएको उनी
निकट स्रोतले जनाएको छ ।
पछिल्लो
समय प्रधानमन्त्री पुष्पकमल दाहालले भिसाको लागि प्रयास जारी राखिएको जवाफ सन्दीप
निकट स्रोतलाई दिए पनि आज दिनभरिमा सकारात्मक परिणाम नआए सन्दीपले विश्वकप खेल्न
नपाउने निश्चित जस्तै छ ।


