इटहरी / इटहरीमा केपी ओली आउने कार्यक्रम स्थगित भएको सूचना इटहरी उपमहानगरपालिकाले निकालेको छ । इटहरीको कचना बुढीगंगा महादेव माध्यमिक विद्यालयको नयाँ भवन उद्घाटन कार्यक्रम मिति फाल्गुण १६ गते तय भैसकेको अवस्थामा बिध्यालय व्यवस्थापन समिति संग सल्लाहनै नगरी सुचना निकाल्नु गलत भएको बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष डिक बहादुर राइले सामाजिक सञ्जालमा पोस्ट गरेका छन ।
इटहरी उपमहानगरपालिका वडा नं ४ मा रहेको नवनिर्मित भवनको उद्घाटन फाल्गुण १६ गते पुर्व प्रधानमन्त्री एवं प्रतिनिधि सभाका विपक्षी दलका नेता केपी ओलीले गर्ने कार्यक्रम रहेको थियो । ओली इटहरी आउने कार्यक्रम आवश्यक तयारी गर्न समय पर्याप्त नभएकाले नवनिर्मित भवनको समुद्घाटन कार्यक्रम स्थगित भएको व्यहोरा इटहरीका मेयर हेमकर्ण पौडेलद्वारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ ।
व्यवस्थापन समिति अध्यक्ष तथा एमाले नेता डिकबहादुर राईले निर्धारित कार्यक्रम नरोकिने जनाएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै नगरप्रमुख पुर्वाग्रही भएको आरोप लगाएका छन् । उनले पुर्वनिर्धारित कार्यक्रममा सहभागि हुन आह्वान गरेका छन् ।
तर नगरप्रमुख हेमकर्ण पौडेल आफैले हस्ताक्षर गरेको विज्ञप्तीमा भने विद्यालय नगरको क्षेत्राधिकारभित्र पर्ने उल्लेख छ ।सर्वसाधारणहरुले भने विद्यालय भवन उद्घाटनमा विद्यालय व्यवस्थापन समिति र उपमहानगरपालिका बिचको प्रतिष्पर्धा अनुचित रहेको टिप्पणी गरेका छन् ।



