सुनसरी / नेपाल स्काउट, कोशी प्रदेशको प्रदेश आयुक्तमा धरान १६ निवासी स्काउटर हेमन्त भण्डारी नियुक्त भएका छन। नेपाल स्काउट कोशी प्रदेश स्काउटका प्रमुख स्काउट एवं सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले प्रदेश आयुक्तमा स्काउटर श्री हेमन्त भण्डारीलाई नियुक्त गरेका हुन। नेपाल स्काउट, नियमावली,२०७७ बमोजिम प्रदेश परिषदमा निर्वाचित प्रदेश परिषद सदस्यहरु मध्ये एक जना सदस्यलाई प्रमुख स्काउटले प्रदेश आयुक्तमा मनोनयन गर्ने कानुनी व्यवस्था छ। २०६४ सालमा सुनसरी क्रीयुमा रोभर तहमा प्रवेश गरी स्काउट क्षेत्रमा उदाएका भण्डारी २०७१ सालमा पुर्वान्चल विकास क्षेत्रको युवा परिषदको अध्यक्ष भएका थिए। २०६७ सालमा झापाबाट स्काउट आधारभुत तालिम लिएर स्काउट लिडर बनेका भण्डारीले २०७१ सालमा एड्भान्स स्काउट तालिमका साथै कब स्काउट आधारभूत तालिम समेत लिएका छन ।
साबिक तान्खुवा गाउँ बिकास समिती-१ ,धनकुटामा जन्मथलो भएका भण्डारी हाल धरान-१६ का स्थाई वासिन्दा हुन भने शैक्षिक क्षेत्रमा सक्रिय ब्यक्ति हुन ।
२०६८ मा सुनसरी जिल्ला स्काउट परिसद सदस्य, २०७७ सालमा प्रथम पटक संघीय संरचनामा स्काउट रुपान्तरण भए पछि कोशी प्रदेश तदर्थ समिति सदस्य भएका भण्डारी कोशी प्रदेशका स्काउट सदस्यता वृद्धि संयोजक समेत भैसकेका हुन। प्रदेश आयुक्तका रुपमा उनको ४ वर्षे कार्यकाल हुनेछ। प्रदेश आयुक्त नियुक्ति पछि स्काउटको विकास र विस्तार गर्दै प्रदेशवासी युवा तथा बालबालिकाहरुको हितमा लाग्ने बताएका छन। अब नवनियुक्त प्रदेश आयुक्तले ११ सदस्यीय प्रदेश कार्यसमिति गठन गर्नेछन


