इटहरी / इटहरीमा यहीँ १० गतेदेखि क्यान इन्फोटेक हुने भएको छ ।

आउँदो फाल्गुण १० देखि १४ गतेसम्म इटहरीमा ६ औं संस्करणको 'क्यान इन्फोटेक २०२४ आयोजना हुने भएको मङ्गलवार पत्रकार सम्मेलन गर्दै कम्प्युटर एसोसिएसन नेपाल सुनसरी शाखाका अध्यक्ष सन्देश राईले तयारीबारे जानकारी दिए । इन्फोटेकको सम्पुर्णको तयारी भएको अध्यक्ष राईले बताए ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नया-नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तकिया गर्ने उदेश्यले हरेक दुई वयं मा क्यान इन्फोटेक आयोजना गर्दै आएको क्यान महासंघ सुनसरीले जनाएको छ । 

इन्फोटेकमा सुचना प्रविधिसम्बन्धि जानकारी लिनका साथै विभिन्न सामाग्री, उपकरणहरु सुपथ मुल्यमा किन्न सकिने उनले जानकारी दिएका छन् ।

इन्फोटेकमा नेपाली सफ्टवेयर कम्पनिद्वारा उत्पादन गरिएका सफ्टवेयर, स्टार्टअप तथा स्वदेशी प्रविधिलाई प्रवद्र्धन गर्नका लागि छुट्टै सफ्टवेयर प्याभिलोन निर्माण गरेको  क्यानका केन्द्रीय सचिव ठाकुर श्रेष्ठले जानकारी दिए । 

जसमा ती नेपाली प्रोडक्टले सहुलियतमा स्टल पाउनेछन् भने नेपालमा सुचना प्रविधि र सफ्टवेयरको क्षेत्रमा गरेको प्रगतीबारे जानकारी लिन सकिनेछ । १ लाख ५० हजार सम्म   प्रदर्शनी हेर्न आउन सक्ने भएका क्यानका केन्द्रीय सचिव श्रेष्ठले बताउनुभयो । 

कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले कार्यक्रमको उद्घाटन गर्ने भएका छन् । प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ-नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरु र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् ।

प्रर्दशनी सूचना प्रविधिसम्बन्धी चासो राख्नेहरुको लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने विशेष थलो हुने क्यानको विश्वास अध्यक्ष राईले जनाए ।

क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिनेछ, इन्फोटेक अवधिभर सूचना प्रविधि सम्बन्धी अन्तकियात्मक छलफलका कार्यक्रम हुने छन् ।

क्यान इन्फोटेकमा ब्रान्डिङ, आईसीटी एक्ससरिज, प्रडक्ट लञ्चिङसँगै आईटी करियर काउन्सिलिङ, स्टार्टअप तथा इनोभेसन पेभिलियन, सफ्टवेयर पेभिलियनको व्यवस्था गरिएको  महासंघका सचिव शम्भु धमलाले जानकारी गराए ।

यस अन्तर्गत सर्वसाधारणका लागि रू. ५० र विद्यार्थीका लागि रू. २५ शुल्क तोकिएको छ। जेष्ठ नागरिक, फरक क्षमताका नागरिक, १० वर्ष मुनिका बालबालिका तथा सरकारी र सामुदायिक विधालयको सिफारिसमा सामूहिक अवलोकनका लागि निस्शुल्क प्रवेश व्यवस्था छ ।

सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहने भएका छन् ।