तेह्रथुम / तेह्रथुमको लालीगुराँस नगरपालिका-९, काँडेमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । झापाको मेची नगरपालिका-१५ का २३ वर्षीय सुगम चौधरी र सिन्धुपाल्चोक घर भएका २४ वर्षीय साधु श्रेष्ठको दुर्घटनामा परि मृत्यु भएको प्रहरीले जनाएको छ ।
टिपरमा सवार ३ जना गम्भीर घाइते भएका छन् । संखुवासभाको मादी नगरपालिका-४ घर भएका ४० वर्षीय दिनेश तामाङ, झापा घर भएका २१ वर्षीय समिर चौधरी र उमेर नखुलेका बिष्णु थामी घाइते भएका हुन् ।
थामीको अवस्था गम्भीर भएकाले थप उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ पठाइएको प्रहरीले जनाएको छ । घाइते अन्य २ जनाको बसन्तपुर अस्पतालमा उपचार भइरहेको छ ।
म्याङलुङ-बसन्तपुर सडक खण्डको काँडेबाट लसुनेबजारतर्फ आउँदै गरेको को १ ख ५८२९ नम्वरको टिपर बुधबार बेलुकी साढे ६ बजे दुर्घटनामा भएको बताइएको छ ।


