भोजपुर / भोजपुरको हतुवागढी गाउँपालिकाले जनस्तरबाटै १९ किलोमिटर सडक निर्माण गर्ने स्थानीयबासीलाई सम्मान गरेको छ ।
स्थानीयको अगुवाईमा ब्यक्तिगत तथा विभिन्न संघ संस्थाबाट रु.६१ लाख ७६ हजार लागत संकलन गरेर सुन वालुवा – घोडेटार सडक निर्माण गरिएको हो । हतुवागढी क्षेत्रमा सडक विस्तारको लागि स्काभेटर अरुण नदीबाट तारेको १४ वर्ष पुगेको अवसरमा तत्कालिन समयमा सडक निर्माणमा आर्थिक सहयोग गर्ने ३८ जना स्थानीयलाई सम्मान गरिएको हो ।
जनस्तरमा जागरण जुटाएर रु. आठ सयदेखी पाँच लाख ४० हजारसम्म आर्थिक सहयोग गर्ने स्थानीयबासीलाई एक कार्यक्रमका बीच गाउँपालिकाले सम्मान गरेको छ । यो सडक निर्माणको लागि ब्याक्तिगत रुपमा २८ लाख ६४ हजार ९९३ र विभिन्न संघ संस्थाबाट ३३ लाख ११ हजार छ सय रुपैँया लगानी भएको बताइएको छ ।
सडक विस्तारको स्मरणको लागि घोडेटार बजारमा सडक स्मारक स्तम्भसँगै घोडाको प्रतिमासमेत राखिएको छ । स्मारकमा रहेको शिलालेखमा दाताहरुको नामावली राखिएको छ । सोहि कार्यक्रममा घोडाको प्रतिमाकोसमेत अनावरण गरिएको छ । हतुवागढी गाउँपालिकाको ऐतिहासिकता उजागर गर्दै दाताहरुको सम्मान स्वरुप स्मारक निर्माण गरिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो ।
कार्यक्रमको अवसरमा सडक निर्माणमा योगदान गर्ने तत्कालिन समितिलाई प्रशंसा पत्रसमेत हस्तान्तरण गरिएको हो । सडकको कारण समस्या भोगिरहेको अवस्थामा तत्कालिन समयमा ज्यानको प्रवाह नगरी ११ घण्टा लगाएर अरुण नदीबाट स्काभेटर(डोजर) तारिएको दिनको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको अध्यक्ष राईको भनाइ छ ।
गाउँपालिकाले सम्मान पत्रसँगै यो काममा योगदान पुर्याउने दाताहरुको नाम शिलापत्रमा राखेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताउनुभयो । स्थानीय नागरिकले यहाँको विकासमा खेलेको भूमिकाको उच्च मुल्याङ्कन गर्ने लक्ष्यले गाउँपालिकाले सम्मान गरेको उहाँको भनाइ छ ।
स्थानीयरुले करिव रु.६१ लाख ७६ हजार रकम जम्मा गरेर २०६० सालमा धनकुटा मुगा –सुन वालुवा– होम्ताङ –घोडेटार सडक विस्तार गरेका थिए । जनस्तरबाट संकलन भएको रकमबाट भोजपुर क्षेत्रमा १९ किलोमिटर सडक खनिएको हो । स्थानीयहरुबाट आफ्नो क्षमता अनुसारको संकलन गरेर सडक निर्माण गरिएको तत्कालिन सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष ध्यान बहादुर राउतले बताउनुभयो ।


