मोरङ / मोरङको जहदा गाउँपालिका–१ का वडाध्यक्ष बाबुराम राजवंशीका नाबालक छोरालाई अपहरण गरेको घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीले जहदा–१ का २० वर्षीय अभिषेक यादव, १९ वर्षीय मिथिलेशकुमार यादव र विराटनगर महानगरपालिका–१८ का २१ वर्षीय विवेकानन्द यादवलाई पक्राउ गरेको हो । जहदा–१ बुधनगरबाट पक्राउ परेका तीनै जना मिलेर १० वर्षीय धनीधर राजवंशीलाई अपहरण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सुरुमा अभिषेकलाई नियन्त्रणमा लिएको प्रहरी त्यसपछि अरु दुई जनालाई पक्राउ गर्न सफल भएको हो ।

मंगलबार दिउँसो अपहरणमा परेका नाबालक धनीधर वडाध्यक्ष बाबुरामका छोरा हुन् । प्रहरीले विराटनगर–१८ बाट उनलाई सकुशल उद्धार गरेको छ । बालक अपहरणमा परेको जानकारी पाउनसाथ अपहरणकारीको खोजी र बालकको उद्धारका लागि मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले विशेष टोली परिचालन गरेका थिए । इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर (प्रहरी निरीक्षक) सन्दीप बेलबासे र इलाका प्रहरी कार्यालय बुधनगरका सइ (प्रहरी नायव निरीक्षक) विजय बस्नेतको नेतृत्वमा खटिएको संयुक्त टोलीले बालकको उद्धार गरेको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार जहदा–१ बाट मंगलबार दिउँसो ३ बजेतिर बालक अपहरणमा परेका थिए । विद्यालयबाट आएर घरनजिकको मन्दिरमा साथीहरुसँग खेलिरहेका बेला अपहरण गरेर लगिएको उनले बताए । दाहालका अनुसार स्कुलमा तिम्रो फोटो खिचाउनुपर्ने छ भनेर ३ जना युवाहरुले ललाईफकाई साइकलमा राखेर लगेको पाइएको छ । भाथीगछ–हरिनगराको गुरुङ टोलमा पुर्याएपछि साइकलदेखि ओरालेर मोटरसाइकलमा राखी मास्क लगाएर विभिन्न स्थान हुँदै बालकलाई विराटनगर महानगरपालिका–१५ स्थित खाकीबाबा मन्दिरनजिकको यादव निवासमा लगेर राख्न खोजेको प्रहरीले जनाएको छ । 

बालकलाई मोटरसाइकलमा बसाएपछि मिलन चोक, झोलुंगे पुल हुँदै विराटनगर–१८ र विराटनगर– १४ को बाटोबाट विराटनगर–१५ स्थित यादव निवास लेखेको घरमा पुर्याइएको रहेछ ।’ डीएसपी दाहालका अनुसार प्रहरी आएको थाहा पाएपछि अपहरणमा संलग्न भने फरार भएका थिए । बालकका बुवा एवं जहदा–१ का वडाध्यक्ष बाबुरामले छोराको अपहरणमा संलग्नलाई कारबाहीको माग राखेर इलाका प्रहरी कार्यालय रानीमा किटानी जाहेरी दिएका छन् ।