भोजपुर / भोजपुरको पौवादुङमा गाउँपालिकाले अपाङता भएका नागरिकहरुका लागि अपाङता परिचयपत्र बितरण तथा स्वास्थ्य शिविर संचालन गरेको छ ।
गाउँपालिकाले अपाङता रोकथाम तथा पुनस्थापना समितिको निर्णय अनुसार पालिका भित्रका ६ वटै वडामा परिचय पत्र बितरण तथा स्वास्थ्य शिविर संचालन गर्ने निर्णय गरेको थियो । गाउँपालिकाको निर्णय अनुसार वडा नम्वर १ श्यामशिलामा मंगलवार परिचय पत्र बितरणका साथै स्वास्थ्य शिविर संचालन गरिएको वडाध्यक्ष राजेन्द्र तामाङले बताउनुभयो ।
वडाध्यक्ष तामाङका अनुसार शिविरमा ११ वटा नयाँ अपाङता परिचय पत्र बितरण गरिनुका साथै ३९ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । पालिकाले अपाङता भएका नागरिकहरुका लागि सहजरुपमा सेवा दिन लागिका वडा तहबाट नै परिचयपत्र बितरण हुने ब्यवस्था मिलाएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । 
वडा तहमा संचालन भएका शिविरहरुले गाउँपालिकाको केन्द्रसम्म परिचयपत्र बनाउन जानु पर्ने झन्झटको समेत अन्त्य गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईले बताउनुभयो ।
उहाँले पौष २४ गतेबाट सुरु भएको परिचय पत्र बितरण तथा स्वास्थ्य शिविर आगामी माघ २ गतेसम्म वडागत रुपमा संचालन हुने जानकारी दिनुभयो । आफनै वडामा नै परिचयपत्र बनाउन र स्वास्थ्य परीक्षण गराउन पाउँदा अपाङता भएका नागरिकहरु समेत खुशी देखिनु भएको छ ।


