मोरङ / उर्लाबारी नगरपालिकाले पहिलो चरणमा १५ जना अशक्त अवस्थाका विपन्न परिवारको घर बनाइदिने गृहकार्य गरेको छ ।
यसको तयारीस्वरुप सोमबार नगर प्रमुख गंगाप्रसाद खरेल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौला ,अधिकृत मुरारी घिमिरेलगायतको टोलीले उर्लाबारी-४ विशाल टोलका दुष्टिविहिन हेम बयलकोटीको हाल बसोबास रहेको घरको निरीक्षण गरेको छ ।
अगरबत्ति, धुपलगायतका सामग्री डुलाउदै बेचेर जीविकोपार्जन गर्दै आएका बयलकोटी श्रीमतीसहित घामपानी नछेलिने बाँसको टाँटीको घरमा बस्दै आएका छन् । मौसमअनुसार पानी, हावाहुरी खपेरै उनको परिवारले दु:खजिलो गरी छाप्रामा गुजारा चलाउँदै आएका छन् ।
उनको दयनीय अवस्था निरीक्षण गरेपछि घर निर्माण कार्य तत्कालै सुरु हुने नगर प्रमुख खरेलले जानकारी दिए । उक्त स्थानमा टिन छानो, पक्कि वालसहितको भुँइ घर निर्माण हुने अधिकृत घिमिरेले जनाएका छन् ।


