इटहरी / इटहरीमा हिन्दु सन्तहरूले धर्म रक्षाका लागि भन्दै बृहत् जनसभा गरेका छन् ।
आइतबार इटहरीमा नेपालमा हिन्दु राष्ट्र कायम गर्नका लागि जनजागरण अभियान आजैबाट सुरु भएको उद्घोष समेत सन्तहरूले गरेका छन् ।
नेपालका अग्रज साधुसन्तहरूका अनुसार उनीहरू अहिलेका राजनीतिक दल र नेताहरूको हिन्दु–सनातनविरोधी व्यवहारबाट क्षुब्ध छन् । अब सनातनविरोधी दल र नेताहरूका विरुद्ध कठोर कदम नचाले देश, धर्म, संस्कृति केही बाँकी रहँदैन ।
राष्ट्रिय सन्त महासभामातहतको सनातन हिन्दुराष्ट्र अभियान नेपालद्वारा आयोजित जनजागरण सन्तसभामा बोल्ने सबै वक्ताहरूले आमसभा, धर्ना, सडक प्रदर्शन, बल प्रयोग, सत्याग्रह आदि जे गर्नुपर्छ गर्ने तर नेपाललाई पुनः हिन्दुराष्ट्र बनाएरै छोड्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
छातीमा राम देखिएका हनुमानको तस्बिरमा माल्यार्पण र पञ्च–शङ्खध्वनिसहित नेपाललाई हिन्दुराष्ट्र बनाउने उद्देश्ययुक्त जनजागरण अभियान प्रारम्भ भएको सार्वजनिक घोषणा गरेका थिए ।
कार्यक्रममा जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले भने, ‘धर्म र देश बचाउन नेपालका सबै साधुसन्त आज एउटै मञ्चमा उभिएका छन् । इटहरीबाट सुरु भएको जनजागरण अभियान हिन्दुराष्ट्र प्राप्त नहुञ्जेल रोकिनेवाला छैन ।’जगद्गुरु देवाचार्यका अनुसार सन्तहरुसँग गोली–बन्दुक नभए पनि तपोबल छ । त्यही तपोबलका भरमा हिन्दुराष्ट्र अवश्य प्राप्त हुनेछ ।
शङ्कराचार्य पिठ झापाका प्रमुख लक्ष्मीप्रसाद खतिवडा पहिलो सत्याग्रही हुने र त्यसमा अरू साधुसन्तहरू थपिने जानकारी पनि सन्तसभामा साझा गरियो । तर त्यसअघि इटहरीमा जस्तै जनजागरण कार्यक्रम जनकपुर, वीरगन्ज, हेटौँडा, चितवन, बुटबल, भैरहवा, कृष्णनगर, नेपालगन्ज र धनगढीमा हुनेछ । त्यसपछि काठमाडौँ केन्द्रित आन्दोलन चर्काउने योजना रहेको आयोजकले जनाएको छ ।
हाल ६२ जिल्लामा सनातन हिन्दुराष्ट्र अभियान नेपाल नामक धार्मिक सङ्गठन बिस्तार भइसकेको र बाँकी जिल्लामा पनि सङ्गठन निर्माणको काम भइरहेको जनाइएको छ । कार्यक्रम संयोजक तथा वृन्दावन गौशालाका संरक्षक दीनबन्थु शास्त्रीले हिन्दुराष्ट्र अभियान नेपालका तर्फबाट ११ बुँदे मागपत्र उनले बताए ।


