भोजपुर / भोजपुरको अरुण गाउँपालिकाले नवनिर्मित प्रशासनिक ट्रस भवनको उद्घाटन गरेको छ ।
गाउँपालिकाका अध्यक्ष सालिकराम खत्री, संविधान सभा सदस्य लोकमणि ढकाल र उपाध्यक्ष विनीता ढकालले एकसाथ नवनिर्मित प्रशासनिक ट्रस भवनको उद्घाटन गरेका छन् ।
गाउँपालिकाको केन्द्र प्याउलीस्थित स्वास्थ्य चौकीसँग जोडिएको जग्गामा पालिकाको १ करोड ९९ हजार ८ सय ४३ रुपियाँ लागतमा भवन निर्माण भएको थियो । गत जेठ २ गतेबाट मिडहिल कन्स्ट्रक्सन प्रालिले निर्माण कार्य सुरुगरी गत मङ्सिरमा काम सम्पन्न पश्चात् पालिकालाई चाबी हस्तान्तरण गरेपछि गाउँपालिका प्रशासनिक ट्रस भवन उद्घाटन गरेको गाउँपालिका प्रशासकीय अधिकृत मणीराम खतिवडाले बताए ।
उनका अनुसार नवनिर्मित भवनबाट तत्कालका लागि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, प्रशासन, योजना, प्राविधिकलगायत शाखाहरूले सेवा प्रवाह गर्नेछन् । प्रशासनिक ट्रस भवनको उद्घाटन गर्दै संविधानसभा सदस्य लोकमणि ढकालले भवन निर्माण पालिकाको उपलब्धिमूलक कार्य भएको बताए । साथै उनले नवनिर्मित प्रशासनिक ट्रस भवनबाट पालिकाले प्रवाह गर्ने सेवाहरू निरन्तर, प्रभावकारी, पारदर्शी हुनुपर्नेमा जोड दिए ।
गाउँपालिका अध्यक्ष सालिकराम खत्रीले अब पालिकाले आफ्नै प्रशासनिक भवनबाट सेवा प्रवाह गर्ने बताए । आफ्नो भवन अभावमा विभिन्न समस्या खेप्दैआएको पालिकाले अव सेवा प्रवाहलाई थप चुस्त तथा सहजरुपमा सञ्चालन गर्ने उनको दावि छ ।
पालिकाको पक्की भवन निर्माणका विषयमा भने आफूहरू लागिपरेको अध्यक्ष खत्रीले बताए । यता, गाउँपालिकाकी उपाध्यक्ष विनीता ढकालले ट्रस भवनबाट सेवा सुरु भएसँगै सेवा प्रवाहमा थप सहजता हुनुका साथै आगामी दिनमा थप उत्कृष्ट सेवा प्रवाह हुने बताइन् । साथै उहाँले पालिकाको आफ्नै प्रशासनिक भवन निर्माण हुँदा आफूहरू खुसी भएको समेत उल्लेख गरिन् ।
पालिकाको पक्की भवन निर्माणका लागि गाउँपालिका –३ प्याउलीस्थित मर्याङ डाँडामा स्थानीयले दिएको निःशुल्क २१ रोपनी जग्गामा भवन निर्माणको तयारी रहेको छ । जसका लागि सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाको प्राविधिक सहयोगमा वातावरणीय मूल्याङ्कन (डिपीआर) समेत सकिएको छ । कार्यक्रममा समयमै भवन निर्माण सम्पन्न गर्ने मिडहिल कन्स्ट्रक्सन प्रालिका सञ्चालक तथा निर्माण व्यवसायी परशुराम कार्कीलाई सम्मान गरिएको छ ।
कार्यक्रममा गाउँपालिका पुर्व अध्यक्ष गजेन्द्रबहादुर कार्की , गाउँपालिकाका कर्मचारी , स्थानीय , स्थानीय टोल विकास संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियोे ।


