इटहरी / इटहरी उपमहानगरपालिकाका ३६ जना नगर प्रहरी दीक्षित भएका छन् । आज इटहरीको रंगशालामा आभारभूत तालिममा सहभागी ३६ जना नगर प्रहरीहरुलाई दीक्षित गरिएको हो ।
उनीहरूलाई इटहरी उप महानगरपालिकाका प्रमुख हेमकर्ण पौडेल, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, इटहरी उप महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहेता, सुनसरीका प्रहरी प्रमुख बिपिन रेग्मी, शसस्त्र प्रहरीका एसपी लकेस तुम्हाङ्फेलगायतले दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।
३५ दिन सम्म चलेको तालिममा रामतपेश्वर यादब लगायतका टोलिले प्रशिक्षण गरेका थिए । दीक्षान्त समारोहमा नगर प्रहरीहरूले राष्ट्रिय सलामी अर्पणसहित कवाज समेत प्रदर्शन गरेका छन् ।
उनीहरूलाई दीक्षित गर्दै उप महानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले नयाँ नगर प्रहरीहरूको आवागमनले नगर प्रहरीलाई थप सशक्त बनाएको बताए । जनशक्तिका हिसाबले नगर प्रहरीको संख्या बढ्नुका साथै समग्र इटहरी उप महानगरपालिकाको सुव्यवस्थामा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उप महानगरपालिका नगर कार्यपालिकाको कार्यालय पदपूर्ति समितिको निर्णयअनुसार ३६ जना नगर प्रहरीहरूलाई छनोट गरी तालिम दिएको थियो ।
नगर प्रहरीलाई उप महानगरपालिकाको सम्पत्तिको सुरक्षा र संरक्षण, उप महानगरमा हुने विभिन्न सभा समारोह, स्थानीय जात्रापर्वहरूको सुरक्षा व्यवस्थापन, उपमहानगर क्षेत्रको पार्किङ स्थलको रेखदेख तथा व्यवस्थापन, सरसफाइ सम्बन्धी मापदण्डको कार्यान्वयन, न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णयको कार्यान्वयन, सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण, विपद् व्यवस्थापन, छाडा पशुको नियन्त्रण, अनधिकृत निर्माणमा रोक लगायतका जिम्मेवारीहरू तोकिएका छन् ।


