सुन्दरहरैचा / मोरङको सुन्दरहरैँचामा गोली हानेर मारेको अवस्थामा जंगली हात्ती मृत फेला परेको छ ।
सुन्दरहरैँचा नगरपालिका-१० मुनालझोडास्थित जनजागरण सामुदायिक वनभित्र सोमबार बिहान हात्ती मृत फेला परेको सब डिभिजन वन कार्यालय सलकपुरका प्रमुख एवं सहायक वन अधिकृत लालबहादुर माझीले जानकारी दिए । उनका अनुसार मृत फेला परेको हात्तीको पुच्छर पनि गायब छ ।
घटनाको प्रकृति हेर्दा गोली हानेर मारेपछि हात्तीको पुच्छर काटेर लगेजस्तो देखिने माझीले बताए । माझी नेतृत्वको वन कर्मचारीको टोली र प्रहरी त्यसलत्तगै वन कर्मचारी र प्रहरीको टोली पुगेर घटनास्थललाई सुरक्षित राखेको छ । थप अनुसन्धानका लागि कोसी टप्पु वन्यजन्तु आरक्ष र डिभिजन वन कार्यालय मोरङको टोली घटनाको अनुसन्धान गर्ने भएको छ ।
उनका अनुसार हात्तीको देब्रेतर्फको खुट्टाभन्दा माथि र घाँटीनजिक गोलीले छेडेको प्वाल देखिन्छ । भाले हात्ती लगभग १२ देखि १५ वर्षसम्मको हुनसक्ने उनले बताए ।
स्थानीयले दिएको जानकारी र घटनाको प्रकृति हेर्दा गोली हानेरै हात्तीलाई मारिएको प्रष्ट हुने माझीले बताए । चोरी सिकारीमा संलग्नले हात्ती मारेको आशंका रहेको उनको भनाइ छ । प्रहरी र वनको टोलीले घटनामा संलग्नको खोजी सुरु गरेको जानकारी माझीले दिए ।
कोसी टप्पु वन्यजन्तु आरक्षबाट वन्यजन्तु विज्ञको टोली आइपुगेपछि पोस्टमार्टम गरेर हात्तीको दासंस्कार गरिने र थप अनुसन्धान अघि बढाइने माझीले बताए । भारतबाट नेपाल प्रवेश गरेका जंगली हात्तीको बथानले कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा उधुम मच्चाइरहेको छ ।


