इटहरी / गुरुङ्ग बौद्ध गुम्बा तमु सेवा समिति इटहरीद्वारा तमु ल्होसार पर्व मनाइएको छ ।
गुरुङ्ग बौद्ध गुम्बा तमु सेवा समिति इटहरी उपमहानगरपालिका वडा नम्बर १ ,१९ र २० को आयोजनामा तमु ल्होसार पर्व मनाइएको छ ।
गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गर्दै तमु ल्होसार मनाएका छन् । कार्यक्रममाका प्रमुख अतिथि इटहरी उपमहानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष मणिराम श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । इटहरी उपमहानगरपालिका र इटहरी २० नम्बर वडा कार्यलय मार्फत गुम्बालाई २ लाख आर्थिक सहयोग गर्ने प्रदिवद्दता रहेको वडा अध्यक्ष श्रेष्ठले बताए ।
कार्यक्रममा गुरुङ समुदायको सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियोे । सामाजिक क्षेत्रमा योगदान पुर्याउदै आएका विभिन्न दाताहरूले गुम्बालाई आर्थिक सहयोग समेत गरेका थिए ।
तमु ल्होसारकै अवसरमा २७ औं साधारणसभा समेत गरिएको छ । गुम्बामा आर्थिक सहयोग गर्ने ६० जना बढी लाई सम्मान गरिएको थियोे ।गुम्बाका अध्यक्ष दल बहादुर गुरूङको अध्यक्षतामा कार्यक्रम गरिएको थियोे ।
सो अवसरमा नव दृष्टि आई हस्पिटल इटहरीको सहकार्यमा १ दिने निःशुल्क आँखा जाँच शिविर समेत गरिएको गुरुङ बौद्ध गुम्बा युवा समितिका अध्यक्ष तनुज गुरुङले जानकारी दिए ।आँखा शिविरमा २ सय ५५ जना भन्दा बढी लाभान्वित भएका छन् ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ ख सुनसरी सभापति शुभेच्छु देवान,तरहराका समाजसेवी रुद्र बहादुर बस्नेत,सल्लाहकार समितिका सदस्य खम्बा सिंह गुरुङ्ग ,गुम्बाका उपाध्यक्ष प्रकाश तमु गुरुङ विभिन्न गुम्बा समुदायका प्रतिनिधि लगाएत गुरूङ समुदायको बाक्लो उपस्थिति रहेको थियो ।
यसै क्रममा इटहरीको बुद्ध गुम्बा इटहरी तमु सेवा समितिद्वारा पनि तमु ल्होसार पर्व भव्यता साथ मनाएका छन् । आज देशै भरका गुरुङ समुदायले तमु ल्होसार पर्व मनाएका छन् ।
ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन्।
‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले यो पर्व मनाउने गरिएको हो । तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।



