बेलबारी / बेलबारीबाट सुनसरीको ईनरुवा सरेको प्रदेश प्रहरी अस्पताल पुर्नस्थापनाका लागि बेलबारी नगरपालिकाले बेलबारीमा १ बिघा ३ कठठा नम्बरीसहित कुल २ बिघा १३ कठठा जग्गा उपलब्ध गराउने र भवन निर्माणका लागि १ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
पौष ७ गते भएको १ सय ८ औं कार्यपालिका बैठकले सो निर्णय गरेको हो । बैठकले बेलबारी १ मा अबस्थित पूर्व पश्चिम लोकमार्गबाट ४ सय ३० मिटर उत्तर प्रस्तावित बसपार्क क्षेत्रको दाताबाट पास हुन बाँकी ३ कठठा १२ धुर सहित बेलबारी नगरपालिकाको नाममा कायम रहेको एक बिगाह तीन कठठा साडे उन्नाइस घुर नम्बरी जग्गा जग्गा र सो जग्गासँगै जोडीएको नगरपालिकाको हकभोगमा रहेको २ बिघा १६ धुर सार्वजनिक जग्गा मध्येबाट एक विगाह दश कट्टा गरी कुल २ बिगाह १३ कठठा जग्गा कोशी प्रदेश प्रहरी अस्पतालको भौतिक पूर्वाधार निर्माणका लागि हक हस्तान्तरण सहित उपलब्ध गराउने निर्णय गरेको हो ।
बैठकले प्रदेश प्रहरी अस्पतालको भौतिक पूर्वाधार निर्माण नभइन्जेल सम्मका लागि हाललाई बेलबारी नगरपालिका वडा नम्बर ४ मा निर्माण सम्पन्न हुन लागेको नगर अस्पतालको भवन पूर्ण रूपमा संचालन र उपयोग गर्न दिने निर्णय पनि गरेको छ । साथै कोशी प्रदेश प्रहरी अस्पताललाई नगरपालिकाले उपलब्ध गराउने जग्गामा भवन निर्माणका लागि नगरपालिकाको तर्फबाट एक करोड रुपैयाँ बजेट उपलब्ध गराउने निर्णय पनि भएको छ ।
कोशी प्रदेश प्रहरी अस्पताल सञ्चालन तथा व्यवस्थापनका लागि चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ बिनियोजित भएकोमा सो रकममा १० लाख नै थप गरी कुल बार्शिक २० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेको छ । कोशी प्रदेश प्रहरी अस्पतालको सञ्चालन, ब्यबस्थापन तथा भौतिक पुर्वाधार निर्माणका लागि अन्तरपालिका स्तरमा समन्वय गरी प्रत्यक्ष रूपले लाभान्वित हुने आसपासका पालिकाहरुबाट पनि सहयोगको वातावरण बनाउन पहल गर्ने निर्णय भएको छ ।


