मोरङ / उर्लाबारीका केही शिक्षकहरु विद्यालयको समयमा पढाउनभन्दा राजनीति दलको कार्यक्रममा भेटिन थालेपछि जनआक्रोश पैदा हुन थालेको छ ।
सोमबार शिक्षकलाई राजनीतिक दलको झोला बोकेर नहिँड्न चेतावनीसहित उर्लाबारी नगरपालिका अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीले धर्ना दिएको छ । राधिका माविका शिक्षक प्रेमप्रसाद भट्टराई एमालेको कार्यक्रममा विद्यालय छोडेरै पुगेको भन्दै अभिभावकहरु रुष्ट बनेका छन्।
रास्वपाको नेतृत्वमा हिजो दिउँसो साडे १ बजेदेखी ३ बजेसम्म नगरपालिका अगाडि धर्नासहित ज्ञापन पत्र बुझाइएको हो । उनीहरुले सामुदायिक विद्यालयका शिक्षकहरुलाई राजनीतिक मोह भए नेता बन्न सुझाव दिएका छन् ।
शिक्षक भट्टराईले गत मंसिर २९ गते नेकपा एमालेले तेह्रथुमको बसन्तपुरमा आयोजना गरेका सभामा पुगेर तस्बिर सार्वजनिक गरेको विषय गलत भएको ठहर गर्दै सम्बन्धित निकायलाई शिक्षक जस्तो ब्यक्ति खुलेआम पार्टीको प्रचारप्रसारमा लाग्नु अनैतिक गतिविधि भएको कार्यक्रमका अगुवा संजय कुमालले जानकारी दिए। उनले विषयवस्तु बुझ्न खोज्दा शिक्षकले अराजकता देखाउँदै जवाफदेही नभएको भन्दै स्थानिय सरकारको ध्यानाकर्षण गर्नका लागि उक्त धर्ना कार्यक्रम गरिएको उनको भनाई छ ।
शैक्षिक क्षेत्रमा नीति तथा संस्थागत विद्यालयलयहरुको लापरवाही र सामुदायिक विद्यालयको गुणस्तर दिनप्रति दिन ओरालो लाग्दै गरेको अवस्थालाई तत्काल सुधार गर्नु पर्ने जस्ता मागहरु राख्दै उक्त ज्ञापन पत्र बुझाएको राष्ट्रिय स्वतन्त्र पार्टी उर्लाबारी नगर कमिटी सचिव सुमन कार्कीले बताए ।
उर्लाबारीका सामाजिक अभियान्ता पिपलराज गिरी, मणि देवानलगायत अभिभावकहरु समेतको उपस्थिती रहेको सो धर्नामा पार्टीका उर्लाबारी नगरसभापति उमेशजंग थापा, जिल्ला उपसभापती भरत कडेँललगायत नगर कमिटीको बाक्लो उपस्थिति रहेको थियो ।


