भोजपुर / भोजपुरको हतुवागढी गाउँपालिकाले पालिका गान/गीत छनोट गरेको छ ।
आज हतुवागढी गाउँपालिकाले सुचना जारी गर्दै पालिका गान छनोटको अन्तिम नामावली प्रकाशन गरेको हो ।
पालिका गानको लागि हतुवागढी ३ का शंकरहरी राईको गीत ‘हतुवागढी साझा भूगोल’ सर्वोत्कृष्ट गानको रुपमा छनोट भएको छ । त्यस्तै प्राप्त सिर्जनाहरु मध्ये उत्कृट १० पालिका गान समेत छनोट गरिएको छ ।
प्राप्त रचनाहरु पालिका गान छनोट समितिले सम्पूर्ण प्रक्रिया सम्पन्न गरि अन्तिम नामावली प्रकाशन गरेको गाउँपालिका अध्यक्ष प्रेम कुमार राईले जनाएका छन् । उनका अनुसार छनोट भएको पालिका गानमा संगित भर्ने र रेकर्डको कार्य तत्काल अघि बढाइने र रेकर्ड पश्चात सार्वजनिक गरिने तयारी छ ।
सर्वोत्कृष्ट रचनाका रचानाकार, गायक र संगीतकारलाई प्रशंसा पत्र र कदर पत्र सहित विशेष सम्मान गरिने छ भने छनोटका लागि प्राप्त अन्य रचनाका सर्जकहरुलाई प्रशंसा पत्र सहित सम्मान गरिने अध्यक्ष राईले बताए ।
गाउँपालिकाले असोज २६ गते एक सुचना जारी गर्दै पालिका गान रचनाको लागि आह्वान गरेको थियो । ४/७ मिनेटमा संगीत भर्न मिल्ने १२/१६ लाइनको हुनुपर्ने उक्त रचनाको लागि हतुवागढीको ऎतिहासिक, साँस्कृतिक, आर्थिक,सामाजिक, परम्परा, रीतिरिवाज, मौलिकता, जाती, भाषा, भौगोलिक क्षेत्र, पर्यटन, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी, पेशा, व्यवसाय लगायतको विषय समेटिएको हुनुपर्ने जनाइएको थियो ।


