सुनसरी / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पाठेघरको समस्या भएका महिलालाई उपचारका लागि अस्पताल पुर्याएको छ ।
नगरपालिकाका १५ वडाका स्वास्थ्यचौकीमा गरिएको ‘स्क्रीनिङ’का क्रममा पहिचान गरिएका पाठेघर खसेका ६२ जनामध्ये पहिलो चरणमा १६ जनालाई उपचारका लागि अस्पताल लगिएको हो ।
शल्यक्रिया लगायतका निःशुल्क उपचार गर्ने व्यवस्थासहित शनिवार एउटा बस रिजर्भ गरेर बिरामी र उनीहरुका एक/एक जना कुरुवालाई शिरमेमोरियल अस्पताल बनेपा लगिएको छ । अस्पताल जाने आउने, उपचार गर्ने, खाने र बस्ने खर्च नगरपालिकाले उपलव्ध गराउने गरी पाठेघर खसेका महिलालाई उपचारमा लगिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए ।
पाठेघर खसेर तेस्रो र चौथो डिग्री पार गरेपछि शल्यक्रिया गर्नुपर्ने अवस्थामा पुगेका बिरामीलाई मात्र अस्पताल लगिएको हो । पहिलो चरणमा २३ जनालाई उपचारमा लैजाने तयारी गरिएको भए पनि अन्तिममा ७ जनाले अस्पताल जान अस्वीकार गरेको नगरपालिकाले जनाएको छ ।
आङ खसेका कारण दर्दनाक दिनचर्या बिताइरहेका महिलाको पहिचान गर्दै निःशुल्क उपचारको व्यवस्थाका लागि नगरपालिकाले तीन महिना यता वडा–वडामा ‘स्क्रीनिङ’ गरिरहेको छ ।
पाठेघर खसेका महिलाको उपचारका लागि मेयर भट्टराई, उपमेयर बिसन राई, नगरपालिकाका जनस्वास्थ्य निरीक्षक खेमराज आचार्य लगायतको टोली सँगै गएका छन् । दोस्रो चरणमा मंसिर ५ गते पाठेघर खसेका बाँकी सबै बिरामीलाई निःशुल्क उपचारमा लैजाने तयारी गरिएको जनस्वास्थ्य निरीक्षक आचार्यले बताए ।


