सुनसरी / पूर्वको नाम चलेको धार्मिक स्थल बराहक्षेत्रसँगै आसपासका क्षेत्रलाई समेटेर धार्मिक र पर्यटकीय सम्भावनाको अध्ययन गर्नका निम्ति धार्मिक अगुवाले १५ दिने पदयात्रा गर्ने भएका छन् ।
नेपालका प्रथम जगतगुरु बालसन्त मोहनशरण देवाचार्यको अगुवाईंमा यही कार्तिक २४ गतेदेखि, मङ्सिर ८ गतेसम्म बराहक्षेत्रसँगै आसपासका धार्मिक स्थलको पदयात्रा गरिने भएको हो । यात्रामा नेपालसहित भारतका गरि दुई सय हाराहारी धार्मिक अगुवाको सहभागिता रहनेछ ।
बालसन्तले कार्तिक २४ गते बिहान ७ बजे कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले उद्घाटन गरेपछि पदयात्रा सुरु गरी सप्तकोसी नदीको पश्चिम तटीय क्षेत्र उदयपुरको बेलका नगरपालिका वडा नं. ७ मा रहेको महाकाली भगवतीको दर्शन गरिनेछ । त्यहाँबाट उत्तर कौशिकी नदीको किनारै किनार कालिन्दी गङ्गाको तटमा राति बास हुनेछ ।
यसैगरी, २५ गते बिहान उदयपुरकै कालिन्दी मैनकोट पर्वतमा रहेको मैनादेवी भगवतीको दर्शन गरिनेछ । २६ गते कालिन्दी मैनबाट उकालो लागेर त्रिवेणीधाममा पदयात्रामा रहेको टोली बास बस्ने तय भएको छ । टोलीले २७ गते धनकुटाको सफाइटारमा रहेको शिव मन्दिरमा दर्शन गर्नेछ । यसैगरी, पदयात्रामा रहेको टोली २८ गते मूलघाट विश्रान्तीधाम पुग्नेछ ।

२९ गते तिहारको भाइटिका परेकाले गर्दा पदयात्रामा सहभागीसँगै अन्यलाई समेत डाकेर विश्रान्ती धाममै टिका लगाउने कार्यक्रम तय भएको छ । टोलीले कार्तिक ३० गते धनकुटाको बेलहरा, सागुरीगढी, नमस्ते झरना लगायतका क्षेत्र यात्रा गर्नेछ ।
यसैगरी, मंसिर १ गते धरानको शिवजट्टाधाम पुगेर २ गते त्यहीबाट यात्रा प्रारम्भ भएर धरानको बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर मन्दिरको दर्शन टोलीले गर्नेछ । मंसिर ३ गते तरहरा हुँदै इटहरीको बुढी खोलाको पूर्व मोरङ सुन्दरहरैँचा क्षेत्रमा रहेको विश्व रुपेश्वर महादेव मन्दिर आइ पुग्नेछ । धार्मिक अगुवाको टोली मंसिर ४ गते रामधुनी मन्दिर पुग्नेछ । रामधुनीपछि पदयात्रा प्रकाशपुर, राजाबास हुँदै ६ गते चक्रघट्टीमा यात्रामा सहभागीले विश्राम लिनेछन् । मंसिर ७ गते चतराधाम हुँदै ८ गते बराहक्षेत्र पुगेर यात्रा टुंगिनेछ ।
बालसन्तका अनुसार बराहक्षेत्रसँगै आसपासका धार्मिक स्थलको पहिचान गरि सम्भावनाको अध्ययन गर्दा सुनसरी, उदयपुर र धनकुटामा रहेका धार्मिक क्षेत्रलाई कसरी विकास गर्न सकिन्छ ? भनेर एउटा महत्वपूर्ण अध्ययन हुने तथा कसरी पर्यटन भक्तजन आर्कषक गर्न सकिन्छ भन्ने विषयको पनि तथ्याङ्क समेत पत्तालाग्ने कुरा बताउनुभयो ।


