सुनसरी / यस वर्षको बडादसैंको टीकामा साइत आज बिहान ११ बजेर २ मिनेट उत्तम रहेको छ ।
नेपाल पञ्चांग निर्णायक समितिले दुर्गाभवानीको प्रसाद लगाउनका लागि साइतको जरुरी नपर्ने तर साइत नै खोज्नेहरुका लागि भने ११ बजेर २ मिनेटको समय उत्तम रहेको जनाएको हो ।
नवरात्रको मुख्य दिन अर्थात दशमीको दिन मंगलबार दिनभर टीका र जमरा लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
विजयादशमीका दिन बिहान १० बजेर ३७ मिनेटमा देवी विसर्जन गर्ने शुभसाइत रहेको पनि समितिले जनाएको छ । दसैंमा मान्यजनहरुबाट टीका–जमरा थापेर आशिर्वाद लिने चलन छ ।
देवी विसर्जन गरिसकेपछि मंगलबार बिहान ११ बजेर २ मिनेट टीकाका लागि उत्तमसाइत रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । उनले राज्य सन्चालनमा रहेकाहरुले भने साइतमै टीका लगाउनु उत्तम हुने पनि बताए ।
घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ। आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ। दशैंका दिन नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्ने प्रचलन रहेको छ।
घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ। असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडादशैंको सबैभन्दा महत्त्वपूर्ण दिन हो।
त्रेता युगमा भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ। यसैले दशैंको दिनलाई विजयको प्रतीकका रूपमा पनि लिइन्छ।


