काठमाडौं / नेपालीहरुको महान चाड दशैको पहिलो दिन घटस्थापना आज बाट प्रारम्भ भएको छ ।
आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक जमरा राखिदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने हिन्दूहरुको महान् पर्व बडादशैंको पहिलो दिन ‘शैलपुत्री’ दुर्गाभवानीको पूजा गरी घटस्थापना गर्ने र जमरा राख्ने परम्परा छ।
जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरोको माटोले र सहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन गरिन्छ । घर शुद्ध भएपछि मात्र देवीको आगमन हुन्छ भन्ने मान्यता छ । दसैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रुपमा मनाउने प्रचलन रहेको छ ।
नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा या दसैंघरमा जमरा राखिन्छ। माटाको घट (कलश) स्थापना गरी जमरा राख्ने गरिन्छ ।
जमरा थोरै बालुवा मिसिएको माटोमा छरिन्छ । अनि नवरात्रिभरि नै हरेक दिन पूजा–अर्चना गरिन्छ । जमरा वास्तवमा जौको अङ्कुरण भए तापनि दसैँको जमरामा जौ लगायत धान, मकै र गहुँका पहेँला, हरिया अङ्कुरित बालाहरू समावेश हुन्छ ।
माटो, पानी, हावा, फूल, आँकुरासँगै जुटेको यो संस्कारले वनस्पतिसँग हामी अत्यन्तै नजिक छौँ भन्ने स्पष्ट पार्छ । हिन्दुहरूको महान् पर्व दसैँमा जमरा संस्कृति एउटा मौलिक धरोहरको रूपमा रहिआएको छ भने यस दशमीको दिन लाइने जमरा उमार्न आजको दिन अर्थात् घटस्थापना महत्त्वपूर्ण दिन हो ।घटस्थापनाका दिन दुर्गापूजासँगै विभिन्न शक्ति पीठको दर्शन गर्ने चलन रहेको छ।


