सुनसरी / मोरङको रतुवामाई नगरपालिकामा वडा स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।
नेपालीहरूको महान् चाड विजया दशमी र शुभ दीपावलीलाई लक्षित गर्दै रतुवामाई युनाइटेड क्लबको आयोजनामा कार्तिक १ गतेदेखि ६ गतेसम्म फुटबल प्रतियोगिता हुने भएको छ ।
क्लबले बुधवार पत्रकार सम्मेलन गर्दै रतुवामाई-७ का मानबहादुर देवानका स्वर्गीय माता पञ्चमाया र पिता तिलक सिंह देवानको स्मृतिमा ‘प्रथम पञ्च तिलक स्मृति कप २०८०’ आयोजना हुने भएको क्लबका महासचिव सुलभ बस्नेतले जानकारी दिए ।
प्रथम पञ्च तिलक स्मृति कपमा रतुवामाईका १० वडाबाट एक/एक टिमको सहभागिता रहने बस्नेतले बताए । प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।


