मिलन अधिकारी 

संखुवासभा / संखुवासभाको चिचिला गाउँपालिकाको वडा नम्बर ४ र ५ जोड्ने ओराङ्ग खोलामा निर्माणधीन झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । 


गाउँपालिका अध्यक्ष पासाङनुर्बु शेर्पा, उपाध्यक्ष मनकला राईले संयुक्त रुपमा रिवन काटेर पुलको औपचारिक रुपमा उद्घाटन गरेका थिए । पुलको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष शेर्पाले पुल निर्माणपछि स्थानीयको जनजिविकामा निकै ठूलो सहयोग पुगेको बताए ।


जिल्लाको उत्तरीक्षत्रमा पर्ने चिचिला वडानम्बर ४ र ५ को बीचमा रहेको ओराङ्गखोलामा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । सो ठाउँका स्थानियबासि लामो समयदेखि जोखिम मोल्दै बासको फड्के तरेर आवातजावात गर्ने पर्ने ठाँउमा झोलुङ्गे पुल बने पछि स्थानीय हर्षित भएका छन् ।

 

वारि भिगुंना र पारि खोलाघारी गाउँ पर्ने भएकाले भिगुंना खोलाघारी झोलुङ्गे पुल निर्माण समिति गठन गरिएको थियो । उक्त उपभोक्ता समितिका अध्यक्ष राजमान राईले पुल बनेपछि स्थानीय गाउँलेहरुलाई राहत मिलेको बताए । 


पुल बनेपछि भिगुंना गाउँ र खोलाघारी गाउँका स्थानीयहरु आवातजावात गर्न सहज भएको छ भने सो पुलबाट देवीटार र पाख्रिबास लगायतका ठाउँहरुमा जान सिधा बाटाे भएको छ । यो भन्दा अगाडी घुमाउरो बाटो हिड्नुपर्ने बाध्यता हटेको उनको भनाइ थियो । 


चिचिलाको दुई वटा वडाहरु जोड्ने यो ओराङ्गखोलामा बनेको भिगंना खोलाघारीमा झोलुङ्गे पुल स्थानीय उपभोक्ताहरुलाई काम दिदा समयमा नै निर्माण सम्पन्न गर्छन् भन्ने गतिलो उदाहरण समेत बनेको छ । 


 चिचिला गाउँपालिका र संघीय सरकारको ३४ लाख ६० हजार ५१० रुपैया र स्थानीय जनश्रमदान ७३ हजार १८ रुपैया गरि कुल ३५ लाख ३३ हजार ५२९ रुपैयाको लागत बजेटमा सम्पन्न भएको हो । उक्त पुलबाट  दुई हजार एक सय ५० जना स्थानीयहरु प्रत्यक्ष लाभान्वित हुने अनुमान गरीएको थियो  ।


पुल बनाउने अवधी भन्दा ६ महिना अगाडी नै सम्पन्न भएको हो । झोलुङ्गे पुल निर्माण गर्नका लागि प्राविधिक सहयोग समाज विकास केन्द्र (सोडेक) संस्थाले गरेका थिए । यो पुल गाउँपालिका र सोडेक संस्थाको समन्वयमा प्राप्त बजेट तथा उपकरणहरू र जनश्रमदानबाट निर्माण गरिएको हो ।