सुनसरी / जिल्ला प्रशासन कार्यलय झापाले स्वभाविक सभ्य पोशाकमा आउन सेवाग्राहीलाई अनुरोध गरेको छ । 


प्रशासन कार्यालयले असोज १२ गते एक सूचना जारी गर्दै सेवा लिन आउने सेवाग्राहीलाई कार्यालयमा आउँदा अनिवार्यरुपमा स्वाभाविक र सभ्य देखिने पोशाक लगाएर आउन आग्रह गरेको छ ।


प्रशासन शाखाबाट जारी सूचनामा पुरुषको हकमा हाफ पाइन्ट र महिलाको हकमा मिनी स्कर्टजस्ता भड्किला, असभ्य र अस्वाभाविक देखिने पोशाक लगाएर आएको खण्डमा कार्यालय परिसरभित्र प्रवेशमा रोक लगाइएको व्यहोरा उल्लेख छ ।


दैनिकजसो हाफ पाइन्टमा र मिनी स्कर्टमा आउने सेवाग्राहीलाई सुरक्षाकर्मीले सम्झाइ बुझाइ बाहिर पठाउने गरेका छन् । कतिपयले सूचनाका बारेमा थाहा नभएको भन्दै बुझ्ने गरेको तर केहीले सेवाग्राहीलाई दुःख दिएको भन्दै रिसाउने गरेको कर्मचारीहरु बताउँछन् ।


प्रशासन कार्यालय परिसरमा बुधबार भेटिएका केही सेवाग्राहीले भने प्रशासनको यस कदमको प्रशंसा गरेका थिए । उनीहरूले यो नियम सधैँका लागि हुनुपर्ने भन्दै अटेर गर्नेमाथि कारबाही गर्नुपर्नेमा जोड दिएका छन् ।