सुनसरी / इटहरी उपमहानगरपालिकाले विद्यालय क्षेत्रमा सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ । इटहरीका विद्यालय क्षेत्रबाट ठूलो परिमाणमा सुर्तीजन्य पदार्थ जफत पनि गरेको छ ।


नगरले विद्यालय क्षेत्र वरपर सुर्तीजन्य पदार्थ साथै मादक पदार्थ बिक्री वितरण गरेमा कारबाही गर्ने चेतावनी दिएको छ । नगरका प्रमुख हेमकर्ण पौडेलका प्रेस संयोजक धनबहादुर पुरीका अनुसार विद्यालय क्षेत्र वरपर सुर्तीजन्य पदार्थ बिक्री वितरण गरेको पाइएपछि भारी परिमाणमा सुर्तीजन्य पदार्थ बरामद गरिएको हो । उनका अनुसार बिक्री वितरण गर्नेलाई कारबाही गर्नेसमेत चेतावनी दिएको छ ।


इटहरी उपमहानगरपालिकाले बुधबार बजार अनुगमन गर्दै ठूलो परिमाणमा बिक्रीका लागि राखिएको सुर्तीजन्य पदार्थ बरामद गरिएको हो । विद्यालय क्षेत्र वरपर मादक पदार्थ र सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ । 


इटहरीका नगरप्रमुख हेमकर्ण पौडेलले विद्यार्थीहरूलाई सुर्तीजन्य र मादक पदार्थको लतबाट टाढै राख्नका लागि निषेधित क्षेत्र घोषणा गरिएको बताए । विद्यालय वरपर खुलेआम सुर्तीजन्य र मादक पदार्थको बिक्री वितरण हुन थालेको गुनासोका आधारमा अभियान थालिएको हो ।


विद्यालय क्षेत्र आसपासमा सञ्चालनमा रहेका होटल तथा किराना पसलमा सुर्तीजन्य पदार्थ तथा मदिरा नराख्न उपमहानगरपालिकाले सबैमा आग्रह गरेको छ । उपमहानगरपालिकाको आग्रहलाई अटेर गरी मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्नेलाई कानूनी दायरामा ल्याइने नगरप्रमुख पौडेलले बताए ।