विराटनगर / कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले गुनासो व्यवस्थापनको लागि क्युआर कोड प्रयोग सार्वजनिक गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले एक कार्यक्रमको आयोजना बिच प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले कोशी प्रदेश प्रहरीको क्युआर कोडको प्रयोग सम्बन्धी कार्यविधि २०८० सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा कुँवरले प्रविधिको दुरुपयोग गरी आपराधिक क्रियाकलाप बढ्दो क्रममा रहेको उल्लेख गर्दै प्रहरीलाई दक्षता अभिवृद्धि गरी प्रविधिमा अब्बल बनाई नयाँ नयाँ प्रविधि समेत भित्र्याउनु पर्ने बताए ।
उजुरी पेटीकाको डिजिटल संस्करणको रूपमा प्रदेश प्रहरी कार्यालय विराटनगरले क्युआर कोड प्रयोगमा ल्याएको हो । आम सेवाग्राहीहरूको हितलाई मध्यनजर गरी प्रहरीले प्रदान गर्ने सेवामा कुनै गुनासो, समस्या या कैफियत भएमा सिधै क्युआर कोड मार्फत सम्बन्धित जिल्लाका जिल्ला प्रहरी प्रमुख समक्ष सेवाग्राहीले आफ्नो भनाई राख्न वा उजुरी गर्न सक्ने प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।


