सुनसरी / इटहरीमा नक्कली नोटसहित दुईजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ परेका दुवैजनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा संखुवासभाको पाँचपखन नगरपालिका ५ घर भएका विवेक राई र संखुवासभाको मकालु नगरपालिका ६ बस्ने अजय राई रहेका छन् ।
उनीहरूको साथबाट प्रहरीले १५ लाख ८७ हजार नक्कली नोट बरामद गरेको इटहरीका डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए । उनले दुवैजनालाई जिल्ला अदालत सुनसरीबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिए ।
उनीहरुको साथबाट एक हजार रुपैया दरका १ हजार ५८७ वटा नोट बरामद भएको छ । नोटहरुमा फोटोकपी पेपर प्रयोग भएजस्तो देखिएको छ । सबै नोटहरुमा जम्मा ७ वटा नम्बरको प्रयोग भएको छ । सक्कली नोटको नम्बर छुट्टा छुट्टै हुन्छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार नक्कली नोटको कारोबार गर्नेहरूले काठमाडौँमै छाप्ने गरेको खुलेको छ । पछिल्लो समय सुनसरीसहित कोसी प्रदेशका विभिन्न सहरमा नक्कली नोटको कारोबार गर्नेहरूको संख्या बढ्दो रहेकाले प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको बताइन्छ ।


