सुनसरी / भोजपुरमा कालाजारका बिरामी फेला परेका छन् । पौवादुङमा गाउँपालिका- ५ सानो दुम्माका दुईजनामा कालाजारको सङ्क्रमण फेला परेको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।
सात वर्षीय बालक बिरामी भएपछि उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गराउँदा कालाजार देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।बच्चामा कालाजार देखिएपछि बाह्र जनाको स्वास्थ्य परीक्षण गर्दा थप एक जना ६६ वर्षीय वृद्धमा कालाजार देखिएको बताइएको छ ।
कालाजार थप रोकथामका लागि प्रभावकारी पहल गर्न सरकारसँग अनुरोध गरिएको जनाएको छ । मानेडाँडा अस्पतालसँगै वडाका विभिन्न ठाउँमा परीक्षण भइरहेको वडाध्यक्ष बोमप्रसाद राईले जानकारी दिए ।
कालाजार देखिएका वृद्धको आर्थिक अवस्था कमजोर रहेकाले गाउँपालिकाबाट सहयोग जुटाएर बाहिरका अस्पताल पठाउने तयारी भइरहेको जानकारी आएको छ ।


